१२ असार २०८३, शुक्रबार

मैदानमा फर्किंदै स्वारेज

जेठ २५, २०७७
मैदानमा फर्किंदै स्वारेज

स्पेनिस क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लुइस स्वारेज चाँडै नै मैदान फर्किंने भएका छन्। घुँडाको चोटको कारण लामो समय मैदान बाहिर रहेका स्वारेज चोटमुक्त भएका भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

स्पेनिस महारथी बार्सिलोनाले शनिबार स्वारेज पूर्ण रूपमा चोटबाट मुक्त भएको जानकारी दिएको हो। बार्सिलोनाले क्लबको चिकित्सकले स्वारेज पूर्णरूपमा फिट भएको र ला लिगाअन्तर्गत अर्को साता तय भएको मालोर्काविरुद्धको खेलमा मैदान उत्रन तयार भएको जनाएको छ।

स्वारेजले गत १२ जनवरीमा चोट बोकेका थिए। उनको दायाँ घुँडामा गम्भीर चोट लागेपछि शल्यक्रिया गरिएको थियो। घुँडाको शल्यक्रिया गरेको एक सय ४७ दिनपछि स्वारेज पूर्णरूपमा फिट भएका हुन्।

स्वारेजले अन्तिम पटक स्पेनिस सुपर कपअन्तर्गत जनवरीमा एट्लेटिको म्याड्रिडविरुद्धको सेमिफाइनल खेल खेलेका थिए। स्वारेजले यस सिजन २३ खेल खेल्दै १४ गोल गरेका छन्।

कोरोना भाइरसको महामारीका कारण स्थगित ला लिगा जुन ११ बाट सुचारु हुँदैछ। विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण दुई महिनाभन्दा लामो समयदेखि स्थगित ला लिगा जुन ११ बाट सुरु गरिन लागिएको हो। लिग सञ्चालकले सम्बद्ध पक्षहरूसँग आवश्यक छलफल गरेर जुन ११ को मिति तय गरेको हो। रियल बेटिस र सेभिलबीचको खेलसँगै ला लिगा सुचारु गरिनेछ। बार्सिलोनाले भने जुन १३ मा मालोर्कासँग खेल्नेछ।

ला लिगाका नयाँ सिजन भने आगामी सेप्टेम्बर १२ तारिखमा सुरु हुने भएको छ। कोरोना भाइरसको महामारी अझै साम्य नभएकाले लिगका क्रममा पनि सावधानी भने अपनाइनु पर्नेछ। जर्मन बुन्डेस लिगाजस्तै स्पेनिस ला लिगा पनि बन्द रंगशालामा खेलाइने भएको छ। ला लिगा गत मार्च १२ तारिखमा स्थगित भएको थियो।

स्पेनिस ला लिगामा अब सबै क्लबले ११÷११ खेल खेल्न बाँकी छ। २७ खेल खेलेको साबिक विजेता बार्सिलोना ५८ अंकसहित तालिकाको पहिलो स्थानमा छ। समान खेलबाट ५६ अंक बटुलेको रियल म्याड्रिड तालिकाको दोस्रो स्थानमा आसीन छ। ४७ अंकसहित सेभिल तेस्रो स्थानमा छ। अन्नपूर्ण पोस्टमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्