प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विद्युतीय सवारीमा गरिएको करवृद्धि फिर्ता गर्न सरकारको ध्यानाकर्षण गराएको छ । विद्युतीय सवारीमा करवृद्धिको निर्णय वातावरण संरक्षण हिसाबले प्रतिगमनकारी भएको कांग्रेसको टिप्पणी छ ।
आइतवार बसेको प्रतिनिधि सभा बैठकको शुरूमै सभामुखसँग समय लिएर नेपाली कांग्रेसका देवेन्द्रराज कँडेलले विद्युतीय सवारीमा गरिएको करवृद्धि फिर्ता लिनुपर्ने बताएका हुन् ।
‘सरकारको यो निर्णय वातावरण संरक्षण हिसाबले प्रतिगमनकारी छ । तीन वर्षभित्र काठमाडौंमा विद्युतीय गाडी हुने घोषणा गरेर नेकपाले मतदाताप्रति बेइमानी गरेको छ,’ उनले भने ।
नेपालमा आगामी वर्ष विद्युत सरप्लस हुन लागेको अवस्थामा विद्युतको खपत कम हुने र इन्धन आयात कम हुने विद्युतीय गाडीमा करवृद्धिको निर्णय गलत भएको उनले बताए । उनले ५ प्रतिशत इन्धन कटौती गर्न सके १० अर्व व्यापार घाटा कम हुने बताए ।
‘विद्युत उत्पादन बढीरहेको समयमा विद्युतीय गाडीलाई निरुत्साहित गर्नु उत्पादित विद्युत खपत नगर्ने नीति हो,’ उनले सरकारमाथि आरोप लगाए ।