
कोरोना भाइरस (कोभिड–१९) जितेर घर जाँदा कृष्ण कुमार पासवान प्रफुल्लित थिए । रुपन्देहीको कोटहीमाई गाउँपालिकाका उनी बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालबाट वैशाख ३१ गते घर गए । अस्पतालका चिकित्सकको निर्देशन अनुसार उनी दुई हप्ता घर (होम क्वारेन्टाइन)मै बसे । घरको दुई साताको बसाइपछि उनी गाउँकै पुर्निहवा चौरहामा शैलुन सञ्चालकलाई कपाल काट्न अनुरोध गरे ।
तर शैलुनको नाउले पासवानलाई कोरोना लागेको व्यक्ति भन्दै कपाल काटिदिन मानेनन् । पुलिसमा उजुरी गर्छु भन्दा पनि नाउले टेरेनन् । उनी कपाल नकाटिकन घर फर्किएर नजिकैका गाउँको केही पर गएर एकजना भाइले उनको कपाल काटिदिए ।
उनी भन्छन्, ‘नाउले मलाई कोरोना लागेको भनेर काट्न मानेनन । म त निको भएर फर्किएको हुँ । मलाई बिभेद गर्यो नाउले । मेरो आत्मसम्मानमा ठेस पुर्यायो । निको भएर घर आएकाहरू अन्य मानिसहरू जस्तै समान होइन र ?’ उनी भन्छन्, ‘मलाई रोजगारीको आवश्यकता छ । काम खोज्दैछु । अब काम खोज्दा पनि तँलाई कोरोना लागेको व्यक्ति होस् भनेर काम पनि नदिने हुन कि भन्ने शंका लाग्न थाल्यो ।’ पासवान प्रदेश पाँचको पहिलो कोरोना संक्रमित हुन ।
कपिलवस्तु नगरपालिकाकी पहिलो कोरोना संक्रमित नर्स आयुस्मा अर्याल बिहीबारदेखि पुनः काममा फर्किएकी छिन् । कपिलवस्तु अस्पताल तौलिहवामा कार्यरत अर्याल ९ दिन होम क्वारेन्टाइनमा बसेर चार दिन अगाडिदेखि काममा त फर्किन तर, उनी हस्पिटलको ‘क्वार्टर’मा बस्न थालिन् । ‘घरमा बस्दा मानिसले कर्के नगरले हेर्न थाले, त्यसपछि मँ हस्पिटलकै क्वार्टरमै बस्न थालें,’ अर्यालले भनिन्, ‘घरबाट बिहान बाहिर निस्किदा मानिसहरू पर परबाट हिँडे । मलाई अर्कै पाराले हेर । त्यही भएर डिउटीमा आएदेखि क्वाटरमै बस्न थालें, अहिले म घरबाट हस्पिटल ‘अपडाउन’ गरेकी छैन । निको भएकालाई पनि हेर्ने दृष्टिकोण फरक पाएँ ।'
उनले आफू बजार ननिस्केको बताइन् । 'अब बजारतिर पनि त्यस्तै समाजका मानिसले विभेद गर्छन् कि भन्ने लागेको छ,' उनले गुनासो गरिन्, 'यस्तो व्यवहारले संक्रमित र उसको परिवारमा ठूलो असर पर्छ । नर्स अर्याल कोरोना संक्रमण पुष्टि भएपछि पनि अस्पतालकै छुट्टै कोठामा आइसोलेट भएर बसेकी थिइन् ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–८ का इसरार अन्सारीको परिवार पनि केही दिन अगाडि २१ दिन खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेनसमा घर फर्किएका छन् । अन्सारीको श्रीमती र सात वर्षिया छोरीलाई पनि कोरोना देखिएको थियो ।
उनी सानो व्यापार गर्छन् । उनले लोकान्तरसँग भने, ‘हाम्रो परिवारको कोरोना लागेको थापा पाएकाहरू पसलमा नआउने हुन कि भन्ने डर छ ।’
उनी नेपालगञ्जको मण्डीबाट तरकारी ल्याएर बिक्री गर्ने गर्थे । उनलाई सब्जीमण्डीबाट कोरोना सरेको आशंका छ । उनलाई शंका लागेर जाँच गर्दा उनीसहित श्रीमती र छोरालाई पनि कोरोना देखिएको थियो । उनकी गर्भवती श्रीमतीलाई अहिले चेकजाँच गर्न अस्पताल जाने सोचमा छन् । अन्सारी भन्छन्, ‘निको भएर घर आएकाहरूलाई आत्मसम्मानसहित आफ्नो कामकाज गर्ने वातावरण भए हुन्थ्यो । हामी पनि अन्य व्यक्तिसरह सम्मानित जीवन जिउने वातावरण हुनुपर्छ ।’
कपिलवस्तुकै कृष्णनगर नगरपालिकाका कृषि शाखाका प्राविधिक शहायक राजेश मिश्र पनि हालै कोरोना जितेर घर फर्किएका छन् । निको भएर घरमा जाँदा उनले आफू र आफ्नो परिवारप्रति छिमेकीले हेर्ने व्यवहार फरक पाए ।
उनले भने, ‘छिमेकीको व्यवहार कस्तो अपहेलना गरेजस्तो पाएँ । हाम्रो परिवारलाई देखे तर्केर हिंड्न थाले ।’ यस्तो व्यवहार देखेर मिश्रले अचम्म मानेका छन् । उनी थप्छन्, ‘के कोरोना कहिल्यै निको नहुने रोग हो र ? पर परबाट हिंड्ने ? हामीलाई न कुनै लक्षण देखियो । न केही समस्या भयो । पहिले जस्तो थियौं । अहिले पनि त्यस्तै छौं ।’
इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक ललित कुँवरले घर परिवारलाई नैं कोरोना संक्रमित भएको घर परिवारलाई खबर गरेनन । कुँवर कोरोना जितेर नियमित काममा फर्केका छन ।
यो सबै प्रदेश पाँचबाट कोरोना जितेर घर पुगेकाहरूको प्रतिनिधि आवाज हो । उनीहरूलाई समाज र छिमेकले हेर्ने दृष्टिकोण परिवर्तन भएको छ । उनीहरूलाई समाजले गरेको विभेदप्रति दुखित छन् । संक्रमण भएर आइसोलेसनमा बसेकाहरूको पनि निको भएर घर फकिँदा समाजले गर्ने व्यवहारमाथि चिन्तित छन् । प्रदेश पाँचमा ९४ जनाले कोरोना जितेर घर फर्किसकेका छन् ।
युनिर्भसल कलेज अफ् मेडिकल साइन्सेज, भैरहवाका मनोचिकित्सक डा. सन्दिप सुवेदीले कोरोनालाई सरकारले नै ‘हाउगुजी’ बनाउँदा समाजले संक्रमितप्रति देखाउने व्यवहारमा ठूलो परिर्वतन आएको बताए । यस्तो व्यवहारले संक्रमित व्यक्तिमा निद्रा नलाग्ने, चिन्ता बढ्ने र समाजमा समायोजन हुने गाह्रो पर्ने सुवेदीको भनाइ छ ।
‘सरकारले संक्रमितको परिचय खुलाएन । निको भएर जानेलाई पनि फुलमाला अबिर लगाएर ठूलै युद्ध जितेर आएजस्तो गरी डिस्चार्ज गर्यो,’ डा. सुवेदीले लोकान्तरसँग भने, ‘जसले गर्दा कोरोना त ठूलो रोग भन्ने बुझाइ भयो । निको भएर आउनेमा पनि संक्रमण रहन्छ भन्ने समाजले बुझयो । जसले गर्दा संक्रमित र उनीहरूको परिवारलाई हेलाहोचो गर्दै टाढिने पुगे ।’
समाजले पब्लिक हेल्थ सम्बन्धि सचेतना दिन नसक्दा कोरोनासम्बन्धी जनताको बुझाई फरक छ । सरकारले निको भएकाहरूबाट कोरोना सर्दैन भन्ने समाजमा बुझाउन सकेको छैन ।
राममणि बहुमुखी क्याम्पसका समाजशास्त्रका प्राध्यापक मोहनराज शर्मा कोरोना निको भएकाहरूमा फर्किन सक्छ भन्ने कन्फयुजन रहँदा समाजमा मनौवैज्ञानिक असर परेको बताउँछन् । यसलाई राज्यले सोसल मिडियाबाट चिर्न आवश्यक रहेको शर्माको भनाइ छ ।
‘कोरोना लाग्नु अपराध होइन । यसप्रति हेर्ने चेतनाको विकास गराउन आवश्यक छ । अपहेलना र तर्केर हिंड्ने होइन । संक्रमितको आत्मबल बलियो बनाउँदै उनीहरूलाई समाजमा स्थापित गराउन इम्युनिटी बढाउने प्रोत्साहन गर्नुपर्छ । डोमिनेट होइन,' शर्माले भने, 'जाँचलाई बढाउनुपयो । मनौवैज्ञानिक उपचार गर्ने, राज्य, विशेषज्ञ र समाजसेवी यो कार्यमा पनि लाग्नु आवश्यक देखिन्छ ।'
प्रदेश पाँचका रोल्पाबाहेक सबै ११ जिल्लामा कोरोना संक्रमित भेटिएका छन । संक्रमित मध्ये ९५ प्रतिशत भारतबाट आएका छन् । आइतवारसम्म प्रदेश पाँचमा १ हजार ६१ जनामा संक्रमण देखिएको छ ।
जसमध्ये सबैभन्दा धेरै कपिलवस्तुका ५ सय २३ जना रहेका छन् । बाँकेमा २ सय ६७, रुपन्देहीका १ सय १२, दाङमा ७३, बर्दियामा ४२, पश्चिम नवलपरासीमा २०, गुल्मीमा ६, पाल्पामा १०, अर्घाखाँचीमा ५, रुकुमपूर्वमा ३ र प्युठानमा ३ जना छन् । प्रदेशको बाँके, गुल्मी, अर्घाखाँची र पाल्पाका गरी चार जनाले ज्यान पनि गुमाइसकेका छन् । ४० हजार भन्दा बढी क्वारेन्टाइनमा छन् । परीक्षण सुस्त हुँदा स्वाब संकलनको रिर्पोट आउन एक सातासम्म समय लाग्ने गरेको छ ।
यो रिपोर्ट फ्रीडम फोरमसँगको सहकार्यमा तयार पारिएको हो ।