
चिनियाँ जनमुक्ति सेनाले भारतसँगको सीमा वास्तविक नियन्त्रण रेखा नजिक सैन्य हेलिकप्टरहरू बाक्लै गरी उडाउन थालेको छ ।
समाचार संस्था एएनआईका अनुसार, चिनियाँ हेलिकप्टरका गतिविधिहरू विगत एक हप्तादेखि बढिरहेका छन् । हेलिकप्टरबाट विभिन्न स्थानमा तैनाथ गरिएका चिनियाँ सैनिकहरूलाई सहायता पुर्याइँदैछ ।
चिनियाँ हेलिकप्टरहरूमा एमआई–७ र मिडियम लिफ्ट दुवैथरी छन् । सामरिक रूपमा महत्त्वपूर्ण गलवान क्षेत्रमा पनि चिनियाँ हेलिकप्टरको बाक्लो उपस्थिति छ । भारतले सडक बनाइरहेको ठाउँमाथि पनि हेलिकप्टर उडेको खबर छ ।
चिनियाँ हेलिकप्टरले सीमा उल्लंघन गरेर भारतीय इलाकामा गश्ती गरिरहेको भन्दै भारतीयहरू तनावमा परको छन् ।
जवाफमा भारतीय सेनाका हेलिकप्टरहरू र लडाकू जेटहरूले संवेदनशील क्षेत्रहरूमा गश्ती गरिरहेका छन् ।
यससँगै चीनले आफ्ना सैनिकहरू उचाइँमा पनि लड्न सक्षम रहेको देखाउन युद्धाभ्यास पनि गरिरहेको छ ।