
तिलोत्तमा नगरपालिका–१० बेंवरे नजिकै शान्तिनगरमा ८ वर्षीया बालिका बलात्कृत भएको खुलेको छ । गत वैशाख २८ गते उनलाई छिमेकी १४ वर्षीय किशोरले घरमै लगेर बलात्कार गरेको आरोप छ ।
विपन्न परिवारकी ती बालिकाका बुवाले वास्ता गर्दैनन् । आमा डिप्रेसनको रोगी छिन् । चौरमा खेल्दै गरेकी मुसहर थरकी बालिकालाई किशोरले आफ्नो घरमा लगेर बलात्कार गरेको खुलेको हो । बलात्कारपछि किशोरले बालिकाको मुखमा टेप लगाइदिएर खुट्टा बाँधेर कोदालोको बिँड यौनांगमा राखेर थप पीडा दिएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । किशोरले कसैलाई भने मारिदिने त्रास देखाएपछि बालिकाले अम्बाको रुखबाट लडेर घाइते भएको बताएकी थिइन् ।
स्थानीय सहनशील टोल विकास संस्थाका अध्यक्ष गोपालप्रसाद घिमिरेका अनुसार बालिका विपन्न परिवारकी भएकै कारण स्थानीयले वैशाख २९ गते ३९ हजार चन्दा संकलन गरेर उपचारका लागि बुटवल प्रादेशिक अस्पतालमा पठाएका थिए । त्यहाँ उपचार हुन नसकेपछि भैरहवा मेडिकल कलेजमा एक सातासम्म राखेर उपचार गरिएको थियो । उपचारकै क्रममा डाक्टरले बालिकाको यौनांगको घाउ लडेर लागेको नभई कसैले त्यस्तो गराएको आशंका गरेपछि बल्ल स्थानीयले सोधीखोजी सुरु गरेको घिमिरेले बताए । ‘केटीलाई फकाएपछि बल्ल घटना खुलेको हो,’ उनले भने, ‘त्यसपछि कारबाहीका लागि प्रक्रियामा लगेका थियौं ।’
स्थानीयको पहलपछि बालिकाकी दिदीले जेठ १९ गते इलाका प्रहरी कार्यालयमा जाहेरी दिएकी छन् । बलात्कार आरोपित किशोर परियार थरका हुन् । किशोरका बाबु जेलमा छन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक प्रतीतसिंह राठौरले घटनाको जाहेरी आएपछि थप अनुसन्धान अघि बढाएको बताए । ‘पीडक पक्ष पनि उमेर कम भएका कारण अदालतबाट अभिभावकै जिम्मा राखेर अनुसन्धान गर्ने गरी आदेश भएको छ,’ उनले भने, ‘घटना हेर्दा जघन्य अपराधजस्तै देखिएकाले अनुसन्धान भइरहेको छ ।’
घटनामा मानवअधिकारकर्मीले स्थलगत अध्ययन र अनुसन्धान सुरु गरेका छन् । रुपन्देहीका कदम नेपाल, एड्भोकेसी फोरम र कपिलवस्तुको सिद्धार्थ सामुदायिक विकास केन्द्रले बालिकाको न्याय, राहत र उपचारका लागि पहल सुरु गरेको कदम नेपालकी अध्यक्ष इन्दिरा आचार्यले बताइन् । ‘पहिले बालिकाको उपचार हो, त्यसमा पहल गर्दै छौं,’ उनले भनिन्, ‘अति विपन्न र घरमा खाने खर्चसमेत नभएकी बालिकालाई थप उपचार जरुरी छ ।’
यौनांग र मलद्वार क्षतविक्षत भएकाले अहिले डाक्टरले कोखाबाट पाइप लगाएर दिसा, पिसाब बाहिर निकाल्ने गराइदिएका छन् । त्यसैले थप उपचार जरुरी रहेको र बालिकालाई मानसिक परामर्श दिनु जरुरी रहेको उनले बताइन् । उनका अनुसार बालिकाको शारीरिक अवस्था पनि कमजोर छ । केटा र उसको परिवार देख्दा अझै तर्सिने गर्छिन् । बालिकाका चार दिदीभाइमध्ये एक दिदीको विवाह भएको र अन्य तीन जना कोही पनि विद्यालय जाने नगरेको आचार्यले बताइन् ।
वडाध्यक्ष ब्यासमुन थारूले घटनाबारे खुलेपछि कारबाहीका लागि छलफल चलेको बताए । स्थानीय महिला समूहसँगको छलफलमा केटाले आफूले ठूलो गल्ती गरेको भन्दै माफी पनि मागेको भन्ने सुनेको बताउँदै उनले थप बुझ्ने जानकारी दिए । कान्तिपुर दैनिकमा खबर छ ।