काठमाडौँ, १५ बैशाख- युवतीहरूलाई आकर्षक वैदेशिक रोजगारीको सपना देखाएर ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बसपार्कबाट दुई युवतीको उद्धार गरी तस्करीमा संलग्न तीनजनालाई पक्राउ गरेको हो, नयाँ पत्रिकामा खबर छ ।

पक्राउ पर्नेमा काठमाडौं जोरपाटी बस्ने सिन्धुपाल्चोक सिपापोखरी–४ का ३८ वर्षीय सरोज भन्ने तोकबहादुर तामाङ, काठमाडौं महानगरपालिका–३१ बागबजार बस्ने झापा जुरोपानी–५ का ४८ वर्षीय मेदनीप्रसाद प्रसार्इं र काठमाडौं गोकर्णेश्वर–८ बस्ने सिन्धुपाल्चोक मार्मिङ गाविस–५ का ३६ वर्षीय निमा तामाङ छन् ।
उनीहरूले ग्रामीण क्षेत्रका कमजोर आर्थिक अवस्था भएका युवतीलाई ओमान पठाउने भन्दै आफँैले पासपोर्ट बनाइदिएका थिए । चुनावको वेला भएकाले काठमाडौंको एयरपोर्टबाट उड्न नमिल्ने बहाना बनाई दिल्ली लैजान लागेका थिए । दिल्लीबाट ओमानमा पु¥याई बिक्री गर्ने उनीहरूको योजना रहेको खुलेको छ ।