काठमाडौँ, १५ बैशाख- एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार र सत्तारुढ दल चुनाव भाँड्ने नियोजित प्रयासमा लागेको आरोप लगाएका छन् । उम्मेदवारको टुंगो लागिसकेपछि स्थानीय तहको संख्या पुनरावलोकन गर्ने, संविधानका अधिकार कटौती गर्नेगरी संविधान संशोधन गर्ने, बजेटपछि चुनाव गराउने खेलमा लागेर सरकारले चुनाव भाँड्ने प्रयास गरेको ओलीको आरोप छ, नयाँ पत्रिकामा खबर छ ।

स्थानीय निर्वाचनका लागि पार्टीको केन्द्रीय प्रचार विभागले बिहीबार आयोजना गरेको राष्ट्रिय प्रचार भेलाको उद्घाटन गर्दै उनले निर्वाचन आचारसंहिताविपरीत राति–राति बिजुलीका पोल बाँड्ने, बजेटको रकमान्तर गर्ने, अघिल्लो मिति राखेर पछि निर्णय गर्ने, विदेशबाट भाडामा विज्ञ बोलाएर एमालेविरुद्ध गलत प्रचार गराउने र नेपाल प्रहरीमा आतंक सिर्जना गर्ने निर्वाचनविरोधी काममा सरकार लागेको आरोप लगाए।
दोस्रो चरणको निर्वाचनका लागि तय भएको ३१ जेठमा मुस्लिम समुदायको रमजान पर्छ भनेर आफूले सत्तारुढ दलका नेतालाई सम्झाउँदा गैरजिम्मेवार जवाफ दिएको ओलीको गुनासो थियो । ‘दुई चरणमा निर्वाचन गराउने निर्णय गरिनु र दोस्रो चरणको निर्वाचनअघि बजेट ल्याउन खोज्नु पनि निर्वाचन हुन नदिने योजना हो, ओलीले भने, ‘फिर्ता भइसकेको संविधान संशोधन प्रस्तावमा अर्को प्रस्ताव ल्याएर एमालेलाई निर्वाचनविरोधी भनेर भ्रमपूर्ण प्रचार गर्न खोजिँदै छ ।’