
दुर्घटनामा परेर मणिपाल अस्पतालमा भर्ना भएका बिरामीमा कोभिड- १९ पुष्टि
पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत बिरामीमा कोरोनाभाइरस (कोभिड १९) पुष्टि भएको छ ।
दुर्घटनामा परी उपचारका लागि भर्ना गरिएका पर्वतका ३५ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि अस्पतालको न्यूरो आईसीयू बार्ड नै बन्द गरिने भएको छ ।
२२ जेठमा सडक दुर्घटनामा परेका ती व्यक्तिलाई उपचारका लागि मणिपाल ल्याइएकोमा २५ गते भएको स्वाब संकलनमा पोजेटिभ आएको गण्डकी प्रदेश स्वास्थ्य क्षेत्रीय स्वास्थ्य निर्देशनालय निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए ।
यता, मणिपाल शिक्षण अस्पतालले न्यूरो आईसीयू बार्ड बन्द गर्ने जनाएको छ । अस्पतालमा कार्यरत डाक्टरसहित १२ जना अस्पतालकै क्वारेन्टीनमा बस्ने जनाइएको छ ।
कोरोना संक्रमित बिरामीलाई थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसन बार्डमा लगिएको छ ।
जुलुश र प्रदर्शन नगर्न गृहमन्त्रालयले दियो चेतावनी
गृह मन्त्रालयले हालसम्मपनि लक-डाउन कायमै रहेकाले विभिन्न बहानामा र माग राखेर गर्ने गरिएको जुलुश प्रदर्शन गर्नेहरूलाई कारवाही गर्ने चेतावनी दिएको छ ।
एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले लक-डाउनको आदेशको अवहेलना गर्ने या काममा बाधा पुर्याउने व्यक्तिलाई संक्रामक रोग ऐन २०२० को दफा ३ अनुसार सम्बन्धित प्रमुख जिल्ला अधिकारीले रू १०० देखि ६०० सम्म जरिवाना र १ महिनादेखि ६ महिनासम्म थुनामा राख्ने चेतावनी दिएको हो ।
‘सरकारले जारी गरेको आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्याउने जो कोहीलाई पनि उक्त ऐनले दिएको अधिकार प्रयोग गरी कारवाही गर्न बाध्य हुनुपर्ने व्यहोरासमेत सम्बन्धित सबैलाई जानकारी गराइन्छ,’ मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कोरोना संक्रमितको संख्या ५ हजार नाघ्यो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ४ सय ४८ कोभिड १९ संक्रमित थपिएको जानकारी दिएको छ ।
शुक्रवार मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा हालसम्मकै सबै भन्दा धेरै संक्रमित थपिएको बताएका हुन् ।
यससँगै हालसम्म नेपालमा संक्रमितको संख्या ५ हजार ६२ पुगेको प्रवाक्ता गौतमले बताए ।
उनका अनुसार विराटनगरमा गरिएको परीक्षणमा मोरङका २ र झापाका ७ जनामा संक्रमण देखिएको छ भने टिचिङ अस्पतालमा गरिएको परीक्षणमा महोत्तरीका १० जनामा संक्रमण पाइएको छ ।
डाक्टर गौतमले भरतपुरमा गरिएको परीक्षणमा चितवनका ८, धादिङका १, सप्तरीका १७, उदयपुरका ३, सिराहाका ११ जनामा संक्रमण पाइएको बताए ।
कोशी अस्पतालमा गरिएको परीक्षणमा इलामका १, झापाका ६ र सुनसरीका १० जनामा संक्रमण पाइएको छ ।
पोखरामा गरिएको परीक्षणमा पर्वतका १३, स्याङ्जाका २२, नवलपरासी पूर्वका १ र तनहुँका १ जनामा संक्रमण पाइएको छ ।
गौतमले भेरीमा गरिएको परीक्षणमा बर्दियाका १५ र बाँकेका १ जनामा संक्रमण पाइएको बताए भने राजधानीको टेकु प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासी पूर्वका ४, मोरङका १ र धादिङका २७ जनामा संक्रमण पाइएको छ ।
जनकपुरमा गरिएको परीक्षणमा धनुषाका १४, महोत्तरीका ६ र सर्लाहीका ३ जनामा संक्रमण देखिएको छ ।
धुलिखेलमा गरिएको परीक्षणमा कपिलवस्तुका ४ र सर्लाहीका ४ मा संक्रमण देखिएको छ भने राप्तीमा गरिएको परीक्षणमा ८ जना संक्रमित पाइएका छन् ।
सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका ३८ र सुर्खेतका ४५ जनामा संक्रमण देखिएको छ भने रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका २, गुल्मीका १, पाल्पाका १, प्युठानका २, रुपन्देहीका १६ र नवलपारासी पश्चिमका २ जनामा संक्रमण देखिएको हो ।
डाक्टर गौतमले टेकुमा गरिएको परीक्षणमा बाराका १, धादिङका १, धनुषाका १, नुवाकोटका १, रौतहटका ८६, काठमाडौँका १ र सर्लाहीका ५० जनामा संक्रमण देखिएको बताए ।
यससँगै हालसम्म नेपालमा जम्मा संक्रमित ५ हजार ६२ देखिएका छन् भने ८ सय ७७ जना डिस्चार्ज भएर घर गइसकेका छन् ।
पछिल्लो २४ घन्टामा मात्र डिस्चार हुनेको संख्या १६ छ ।
सरकारविरुद्धको प्रदर्शनमा जसपाको ऐक्यबद्धता, सरकारी दमनको विरोध
संसदको तेस्रो ठूलो दल जनता समाजवादी पार्टी नेपाल(जसपा)ले सरकारविरुद्ध पछिल्ला दिनमा भइरहेका जनप्रदर्शनप्रति ऐक्यबद्धता जनाएको छ । वर्तमान सरकार कोरोना महामारी नियन्त्रण गर्न पूरै असफल भएको सो पार्टीको आरोप छ ।
जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले शुक्रवार एक संयुक्त विज्ञप्ति प्रकाशित गरी जनताका आवाज सम्बोधन गर्नुको सट्टा हेपाहा प्रवृत्ति देखाई जनप्रदर्शनमा दमन गरेकोमा भर्त्सना गरेका हुन् ।
अध्यक्षद्वयले जनताका न्यायोचित आवाजलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
सरकारविरुद्ध प्रदर्शन : जनतालाई न सरकारको भर, न कोरोनाको डर !
पछिल्ला केही दिनयता राजधानीसहित देशका मुख्य शहरहरू चितवन, पोखरा लगायतमा निरन्तर सरकारविरुद्ध प्रदर्शन भइरहेका छन् ।
सरकारप्रति बढेको आक्रोशको प्रतिनिधित्व गर्दै कोरोना भाइरस (कोभिड–१९) महामारीको वास्ता नगरिकन युवाहरू सडकमा निस्केका छन् ।
कोभिड १९ को महामारी व्यवस्थापनमा सरकार असफल भएको निष्कर्षसहित युवाहरू सडकमा आएका हुन् । प्रदर्शनकारीले बोकेका प्लेकार्डमा सरकार विरुद्धका असन्तुष्टि छरपस्ट देख्न पाइन्छ ।
महामारी व्यवस्थापनमा असफलतासँगै सरकारले विगत केही महिनाको अवधिमा गरेका विवादित क्रियाकलापको जवाफ प्रदर्शनले खोजेको छ ।
कतिपयले पछिल्ला प्रदर्शनलाई २०६२/६३ को जनआन्दोलनसँग समेत जोडेर हेरेका छन् । त्यतिबेला कर्फ्यू तोडेर जनता बाहिर निस्केका थिए भने यतिबेला कोरोनाको ‘भय’लाई अवमूल्यन गर्दै जनता सडकमा उत्रेका छन् ।
कोरोना नियन्त्रण र रोकथामका नाममा विगत ८० दिनदेखि जनता लकडाउनमा थिए । संक्रामक रोग ऐनअनुसार जनतालाई दैनिक गतिविधि गर्न पनि वञ्चित गरिएको थियो । शुरूका केही हप्ता सर्वसाधारणले स्वतः स्फूर्त रूपमा राज्यको समर्थन गरे अर्थात् लकडाउन पालना गरे, बाहिर निस्केनन् ।
तर यसबीच सरकारले महामारी नियन्त्रणका नाममा धेरै विवादास्पद निर्णयहरू गर्यो र गर्दैछ । सामाजिक सञ्जालमा सरकारका आलोचकलाई अश्लील गाली गर्ने गुरु भट्टराईलाई रेलवे कम्पनीको महाप्रबन्धकमा नियुक्त गर्नु सरकारको अर्को स्वेच्छाचारिता हो ।
केही दिनयता गरिएका प्रदर्शनहरू संगठित छैनन् । यस्ता प्रदर्शनको समन्वय सामाजिक सञ्जाल फेसबूकमा रहेको एउटा ग्रूप ‘कोभिड १९ नेपाल : इनफ इज इनफ’बाट सञ्चालित रहेको देखिन्छ । यस्ता प्रदर्शनमा कांग्रेस, विवेकशील, साझा लगायतका पार्टीका युवा समर्थक बढी देखिने गरेका छन् । यद्यपि यस्ता असंगठित प्रदर्शनले कुनै पनि बेला ‘विस्फोट’को रूप लिने भय सरकारलाई छ ।
सर्लाहीमा गोली चल्यो, एक भारतीय नागरिकको मृत्यु
नेपाल प्रवेश गर्न खोज्ने भारतीय नागरिक र बोर्डरमा खटिएका सशस्त्र प्रहरी बलबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।
भारतीय नागरिकले सर्लाहीस्थित नेपाल–भारत सीमाको आउट पोष्टमा आक्रमण गर्न खोजेपछि सशस्त्र प्रहरीको गोलीबाट एक जनाका मृत्यु भएको प्रहरीले जनाएको छ ।
‘नेपालमा प्रवेश गर्न खोज्ने भारतीय नागरिकलाई नियन्त्रण लिने प्रयासस्वरूप गोली चलाउनुपरेको हो', जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले लोकान्तरसँग भने ।