
संविधानको दोस्रो संशोधन विधेयक २०७७ मा संसदमा प्रतिनिधित्व गर्ने सबै दलको सहमति रहे पनि विधेयक पारित गर्न मतविभाजनमार्फत मत संकलन शुरू गरिएको छ ।
संविधान संशोधन विधेयक पारित गर्न संसदमा रहेका सदस्यको दुईतिहाइ आवश्यक पर्छ ।
संविधान र नियमावलीको व्यवस्था अनुसार संविधान संशोधन विधेयक मत विभाजनमार्फत गरिने भएकाले सांसदहरूले हस्ताक्षर गर्दैछन् । जनाउ घण्टी बजेको ५ मिनेटपछि संसदभित्र प्रवेश गर्ने ढोका बन्द गर्न सभामुखले आदेश दिएका छन् ।
शनिवार प्रतिनिधि सभामा भएको दफावार छलफलमा सबै दलले समर्थन गरेको घोषणा गरिसकेका छन् । दफावार छलफल सकिएपछि सभामुखले मतविभाजनमार्फत विधेयकको पक्षविपक्षमा मतदान गर्न समय दिनेछन् । विधेयकको विपक्षमा रहेकी समाजवादी पार्टीकी सांसद सरिता गिरीले बैठक बहिष्कार गरेकी छन् ।
सभामुखले समय दिएपछि सांसदहरूले बैठक कक्षको लविमा रहेको हस्ताक्षर पुस्तिकामा गएर मत जाहेर गर्नेछन् । प्रतिनिधि सभामा २७५ सांसद रहने व्यवस्था भए पनि रेशम चौधरी, हरिनारायण रौनियार, मोहम्मद अफ्ताव आमल लगायत ४ सांसद निलम्बनमा छन् ।