१९ असार २०८३, शुक्रबार

अमेरिकामा प्रहरीले काला जातिका मानिसलाई गोली हानेर गर्‍यो हत्या, विरोधमा आगजनी (भिडियो)

जेठ ३२, २०७७
अमेरिकामा प्रहरीले काला जातिका मानिसलाई गोली हानेर गर्‍यो हत्या, विरोधमा आगजनी (भिडियो)

अमेरिकाको एटलान्टामा प्रहरीले गोली हानेर काला जातिका पुरुष रेशार्ड ब्रूक्सको हत्या गरेपछि दंगा भड्किएको छ । विरोधकर्ताहरूले बाटो अवरोध गरेका छन् भने वेन्डीज रेस्टुराँमा आगजनी समेत गरेका छन् । त्यही रेस्टुराँमा ब्रूक्सलाई गोली प्रहार गरिएको हो । 

एटलान्टाका प्रहरी प्रमुख एरिका शील्ड्सले राजीनामा दिएकी छन् र मेयर केइशा लान्स बटम्सले ब्रूक्सको हत्या गर्ने प्रहरी अधिकारीलाई तत्काल निलम्बित गर्ने भनेकी छन् । तर विरोध मत्थर हुन सकेको छैन र शनिवार राति त्यो हिंस्रक भएको छ । 

ब्रूक्स मारिएको घटनामा वेन्डीज पनि आंशिक जिम्मेवार रहेको भन्दै विरोधकर्ताहरूले त्यसमा आगजनी गरेका छन् । उक्त रेस्टुराँ पेट्रोल पम्प नजिकै छ । 

रेस्टुराँका कर्मचारीहरूले एकजना शंकास्पद मानिस आफ्नो कारमा सुतिरहेको भनी प्रहरीलाई खबर गरेका थिए । प्रहरी आएर उनको मापसे परीक्षण गर्दा उनले मापसे गरेको पाइयो । त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिन खोज्दा उनले सक्रिय रूपमा प्रतिरोध गरेका थिए । 

अनि ब्रूक्स भाग्न खोज्दा प्रहरीले गोली हानेको देखिन्छ । उनले प्रहरीबाट झड्का दिने यन्त्र (टेजर) खोसेर प्रहरीलाई नै ताकेका थिए । 

त्यसपछि प्रहरीले उनीमाथि गोली चलाएको थियो । ब्रूक्स गोली लागेर मरेपछि प्रहरीमा व्याप्त जातिवाद र गैरन्यायिक हत्याका विषयमा थप प्रदर्शन भइरहेका छन् । 

काला जातिका पुरुष जर्ज फ्लोयडलाई गत मे महिनामा प्रहरीले घाँटी थिचेर हत्या गरेपछि अमेरिकाका प्रमुख शहरहरूमा प्रहरी ज्यादती र जातिवाद विरोधी प्रदर्शन भइरहेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्