
बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले असार १ गतेदेखि बन्द गर्ने भनेको मृगौलाको डायलाईसिस सेवा यथावत राख्ने जनाएको छ ।
अस्पतालका अध्यक्ष एजाज आलमले स्वास्थ्य सेवा विभागले दुईदिन भित्र भुक्तानी गर्नुपर्ने रकम उपलब्ध गराउने भन्दै सेवा नरोक्न आग्रह गरेकोले सेवा नरोकी यथावत राखिने जानकारी दिए ।
सरकारबाट प्राप्त हुनुपर्ने रकम भुक्तानी नभएको भन्दै अस्पतालले यसअघि असार १ गतेदेखि मृगौलाका विरामीहरुलाई उपलब्ध गराउंदै आएको डायलाइसिस सेवा बन्द गर्ने जनाएको थियो ।
अस्पतालले विपन्न वर्गका नागरिकलाई मृगौलाको डायलाईसिस तथा मुटुको उपचारमा सहुलियत दिएवापत सरकारबाट ११ महिनादेखिको रकम प्राप्त गर्न सकेको छैन । विपन्न वर्गका विरामीलाई डायलाइसिस सेवा उपलब्ध गराए वापत अस्पतालले नेपाल सरकारबाट पौने आठ करोड रकम भुक्तानी पाउन बांकी रहेको छ ।
विपन्न वर्गका नागरिकको लागि नेपाल सरकारले उपचारमा दिने सहुलियतका लागि अस्पताल सूचिकृत भई २०७३ साल पुस १७ गतेदेखि निःशुल्क डायलाईसिस सेवा सञ्चालन गर्दै आएको थियो । हाल प्रदेश ५ मा साढे ६ सयको हाराहारीमा मृगौलाका विरामी रहेको भएपनि गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा मात्र साढे ३ सय जना विरामीले निशुल्क डायलाइसिस सेवा लिंदै आएका छन् ।