उत्तर कोरियाका नेता किम जोङ उनकी बहिनी यो जोङले दक्षिण कोरियाविरुद्ध सैन्य कारवाही समेत गरिन सक्ने चेतावनी दिएकी छन् ।
उत्तरबाट भागेर दक्षिण कोरिया आएका मानिसहरूले उत्तरमा प्रोपागान्डा फैलाइरहेको र खाना पठाइरहेको अवस्थामा दुई देशबीच तनावको स्थिति छ ।
यो जोङ अनौपचारिक रूपमा किमकी शीर्ष सहायक हुन् । उनले सरकारी समाचार संस्था केसीएनएमार्फत शनिवार एक बयान जारी गरेर चेतावनी दिएकी हुन् ।
‘सर्वोच्च नेता, हाम्रो पार्टी र राज्यले दिएको अधिकार प्रयोग गर्दै मैले दुश्मनको गतिविधि हेर्ने विभागलाई निर्णयक कारवाही गर्न निर्देशन दिएकी छु,’ यो जोङले भनिन् ।
उनको बयानमा कारवाहीको विस्तृत विवरण छैन तर विश्लेषकहरूले सैन्य कारवाहीको सम्भावना औंल्याएका छन् । तर दक्षिण कोरियाले उत्तरबाट भागेर आएकाहरूलाई कारवाही गरेको छ । उनीहरूले बलूनमा राखेर चामल र उत्तरविरोधी पर्चाहरू उत्तर कोरियातिर पठाउने गरेका छन् । अनि बोतलमा ती कुरा राखेर समुद्री मार्गबाट पनि पठाउने गरेका छन् ।
उत्तर कोरिया यी क्रियाकलापबाट क्रुद्ध भएको छ र अघिल्लो साता उसले अन्तर्कोरियाली हटलाइन संवाद सेवा बन्द गरेको थियो । अनि दुई सरकारबीचको सम्पर्क कार्यालय पनि बन्द गरिदिने धम्की उसले दिएको थियो ।
उत्तरसँगको सम्बन्ध सुधार्नका लागि दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले पर्चा र चामल पठाउने अभियानलाई हतोत्साहित बनाइरहेका छन् । उत्तर कोरियाको आलोचना नगर्न आफूहरूलाई दबाब आएको भगौडाहरूको भनाइ छ ।