
काठमाडौं १५ वैशाख–संविधान संशोधन विधेयकको विपक्षमा उत्रिएको एमाले नेतृत्वको विपक्षी गठबन्धनमा फूटको संकेत देखिएको छ ।
नेकपा एमालेको नेतृत्वमा रहेको नौ दलीय गठबन्धनका केही दल ‘देशलाई निकाश दिन’ भन्दै संशोधनको पक्षमा भोटहाल्ने तयारीमा पुगेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संशोधन विधेयकको पक्षमा दुईतिहाई पु-याउन विपक्षी गठबन्धनका साना दललाई संशोधनको पक्षमा ल्याएका छन् । स्रोतका अनुसार विपक्षी गठबन्धनमा रहेका तीन साना दलले संशोधनको पक्षमा भोट हाल्ने छन् ।
संसदमा दुई सांसद रहेको नेपाल परिवार दलले संशोधनको पक्षमा भोट हाल्ने लगभग पक्का भएको बालुवाटार स्रोतले बतायो । यसैगरी विश्वेन्द्र पासवान र मेघराज नेपाली निषाधले पनि संशोधनको पक्षमा भोट हाल्ने सम्भावना रहेको प्रधानमन्त्री निकट स्रोतले बतायो ।
विपक्षी गठबन्धनमा रहेको शिवलाल थापा नेतृत्वको जनमुक्ति पार्टी विजगकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकमा प्रवेश गरिसकेका छन् भने सोही पार्टीकी सांसद सीमा कुमारी विक नयाँ शक्ति पार्टीमा प्रवेश गरेकी छन् ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विपक्षी गठबन्धनसँग अहिले पनि एकतिहाइ भन्दा बढी सांसद रहेको दावी गरे । ‘सत्तापक्षलाई दुइतिहाइ पुर्याउन कठिन छ’ उनले लोकान्तरसँग भने ।
बिहीवार एमाले संसदीय दलको कार्यालयमा उपस्थित भएका परिवार दलका अध्यक्ष एकनाथ ढकालले संशोधनको विरोध गरेपनि उनले बिहीवार नै प्रधानमन्त्री प्रचण्डलाई संशोधनको पक्षमा भोट हाल्ने प्रतिबद्धता जनाइसकेका छन् । संसदमा अहिले ५ सय ९३ सांसद छन् ।
संशोधन पारित गर्न दुइतिहाइ अर्थात ३ सय ९६ सांसद आवस्यक पर्छ । सत्तारुढ गठबन्धनले ३ सय ९४ सांसद पक्षमा रहेको र मतदानको समयसम्म दुईजना सांसद फेला पार्ने बताएको छ । संशोधन विधेयक आइतवार पारित गर्ने सरकारको तयारी छ ।