
भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालसँगका सबै समस्याको दुई मुलुकबीचको छलफलबाट समाधान खोजिने बताएका छन्।
छिमेकी देश नेपालसँग सामाजिक, ऐतिहासिक वा सांस्कृतिक सम्बन्ध मात्र नभइ ‘धार्मिक’ पनि भएको उनले साेमबार बताएका हुन्।
सीमा सडक संगठन (बोर्डर रोड्स अर्गनाईजेसन) द्वारा ‘कैलास मानसरोवर यात्राको सुविधाका लागि निर्माण गरिएको सडकलाई लिएर लिपुलेकसम्मको सडकबारे नेपाल-भारतबीच विवाद बल्झिएपछि सिंहको यो भनाइ आएको हो।
यो सडक मानसरोबरसम्म जानका लागि बनाइएको ८० किलोमिटर नयाँ मार्ग ‘भारतीय क्षेत्र’मा रहेको दावी सिंहले उत्तराखण्ड जनसम्वाद -यालीलाई भिडियो सम्मेलनमार्फत सम्बोधन गर्ने क्रममा बताएका हुन्।
उनले भने, 'नेपालमा यसबारे बुझाइमा केही गलत धारणा आएका छन्। यसलाई हामीले वार्ताका माध्यमबाट समाधान गर्नेछौँ।'
नेपालले चासो व्यक्त गरेजस्तो हामीबीच सामाजिक, भौगोलिक, ऐतिहासिक वा सांस्कृतिक सम्बन्ध मात्र नभई हामीबीच धार्मिक सम्बन्ध पनि रहेको र भारतले यसलाई कहिल्यै विर्सन नसक्ने उनकाे भनाइ छ।
दुई मुलुकबीच ‘रोटी–बेटी’ को सम्बन्ध रहेको र यसलाई ‘विश्वका कुनै शक्ति’ले तोड्न नसक्ने भारतीय रक्षामन्त्रीको दावी रहेको छ ।
केही दिन पहिले नेपालको प्रतिनिधि सभाले सर्वसम्मतरूपमा पारित गरेको नेपालको नयाँ नक्सालाई मान्यता दिन संविधानको संशोधन गर्ने निर्णयलाई आइतबार राष्ट्रिय सभाले (संसदको माथिल्लो सदन) ले अनुमोदन गरेको थियो । नयाँ नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको छ ।