लद्दाखको गलवानमा भारत र चीनबीच हिंस्रक झडप भएपछि पाकिस्तानले चीनको सहायताका लागि योजना बनाइरहेको खुलेको छ ।
पाकिस्तानको जासूसी संस्था आईएसआईको केन्द्रीय कार्यालयमा तीनै सेनाका प्रमुखहरूले महत्त्वपूर्ण बैठक गरेका छन् । यस बैठकमार्फत पाकिस्तानी सेनाले भारतलाई सन्देश दिने कोशिश गरेको छ ।
पाकिस्तानी सेनाले जारी गरेको बयानमा सेनाप्रमुखहरूको बैठकमा नियन्त्रण रेखा र कश्मीरको विषयमा चर्चा गरेको उल्लेख छ । पाकिस्तानी सेनाका प्रमुख कमर जावेद बाजवा, जलसेना प्रमुख जफर महमूद अब्बसी र वायुसेना प्रमुख मार्शल मुजाहिद अनवर खानका साथै आईएसआईका शीर्ष अधिकारीहरू पनि बैठकमा उपस्थित थिए ।
पाकिस्तानी पत्रिका डनमा छापिएको खबरअनुसार, राष्ट्रिय सुरक्षामा ब्रीफिङका लागि आईएसआई केन्द्रीय कार्यालयमा तीनै सेनाप्रमुख यसरी भेला हुनु भनेको दुर्लभ घटना हो । यस्तो बैठक संकटको समयमा मात्र गरिन्छ ।
आईएसआईले दुईपटक प्रधानमन्त्री इमरान खानलाई सुरक्षाको ताजा परिस्थितिको बारेमा बताइसकेको छ । भारतसँग बढ्दो तनावका बीच यो बैठक बसेको डन पत्रिकाले लेखेको छ । भारतले आफूमाथि आक्रमण गर्न सक्ने पाकिस्तानको आकलन छ ।
डनका अनुसार, पाकिस्तानका परराष्ट्रमन्त्री महमूद कुरैशीले आगामी केही दिनमा चिनियाँ समकक्षी वाङ यीसँग यसबारेमा कुरा गर्न सक्ने सम्भावना छ ।