
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वार्ताका माध्यमबाटै भारतसँगका सबै समस्या समाधान गर्न नेपाल दृढ रहेको दोहो¥याउँदै इच्छाशक्ति भएमा महामारीका बेला पनि वार्ता गर्न सकिने बताएका छन्।
राष्ट्रियसभाको बुधबारको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत परराष्ट्र मन्त्रालयमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले इतिहासदेखि थाँती रहेका विषयको निरुपण वार्ताबाटै हुने नेपालको मान्यता रहेको र इच्छाशक्ति भएमा महामारी त्यसको बाधक नहुने यथार्थलाई भारतले आत्मसात् गर्नेमा आफू विश्वस्त रहेको बताए।
यद्यपि उनले भारतको नाम उच्चारण भने गरेनन्।
मन्त्री ज्ञवालीले नेपालको नयाँ राजनीतिक एवं प्रशासनिक मानचित्रमा समेटिएका भूभागमाथि नेपालको भोगचलन कायम गर्न सरकार दृढतापूर्वक अघि बढेको उल्लेख गर्दै त्यसनिम्ति कूटनीतिक प्रयासलाई अझ प्रभावकारी तुल्याइने बताए।
‘हामी सत्यको पक्षमा छौँ र इतिहासले दिएको दायित्व पूरा गर्न प्रतिबद्ध छौ,’ उनले भने, ‘ऐतिहासिक सन्धि–सम्झौता, प्रमाण र तथ्यले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि भएको पुष्टि हुन्छ ।’
मन्त्री ज्ञवालीले भारत र चीनसँग सुमधुर मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने सरकारको घोषित नीति रहेको बताउँदै उनीहरूका सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै सन्तुलित सम्बन्ध कायम गर्ने नीतिबाट नेपाल अविचलित रहेको स्पष्ट गरे।
मन्त्रालयले सम्पादन गर्ने कामको प्रकृतिअनुसार चालू खर्च अधिक र पूँजीगत खर्च कम भएको स्पष्ट गर्दै उहाँले ‘पब्लिक डिप्लोमेसी’ प्रवद्र्धन गर्ने योजनामा मन्त्रालय रहेको जानकारी दिए।