काठमाडौं, १५ बैशाख– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बसेको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा संविधान संशोधन, बजेट र दुई चरणमा निर्वाचन भए मतगणना कसरी गर्ने भन्ने विषयमा छलफल केन्द्रीत भएको थियो ।
बैठकको सुरुमै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल समेत सुरु भइसकेको भन्दै त्यसलाई पारित गराउन एमालेको सहयोग माग गरेका थिए । यस्तै उनले संविधान अनुसार बजेट जेठ १५ भित्रै ल्याइसक्नु पर्ने भन्दै दलहरुको सुझाव माग गरेका थिए भने निर्वाचन दुई चरणमा गर्ने तय भइसकेको अवस्थामा मतगणना कसरी गर्ने भन्ने विषयमा समेत दलहरुसँग सुझाव माग गरेका थिए ।
प्रचण्डले संविधान संशोधन, बजेट र चुनाव गरी तीन एजेण्डा छलफलमा राखेसँगै प्रमुख प्रतिपक्षी दल एमालेले संशोधन प्रस्तावमा आफ्नो समर्थन नरहने स्पष्ट पारेको थियो । एमालेले सरकारले ल्याएको संशोधन प्रस्ताव थप प्रतिगामी रहेको भन्दै मधेसी मोर्चासँग कस्तो सहमति भएको थियो भन्नेबारेमा पनि आफूहरुलाई कुनै जानकारी नगराइएको बताएको थियो ।
बैठकपछि एमाले प्रमुख सचेतक अग्नी खरेलले प्रमसहित सत्तापक्षको कुरा सुन्नेकाम भएको भन्दै आफूहरुले पनि पार्टीको कुरा खुलस्त राखेको बताए ।
बैठकमा प्रचण्डले संविधान संशोधन, दुई चरणमा चुनाव भए दुई चरणमा मतदान गर्न हुने या नहुने भन्ने विषय बैठकमा राखेको भन्दै खरेलले यसबाहेक प्रमले संविधान संशोधनलाई पुनः परिमार्जन गर्न मधेसी दलसँग बसेर टुंगो लगाउने समेत बैठकमा जानकारी गराएको बताए ।
प्रचण्डले परिमार्जनको कुरा गरेसँगै एमालेले परिमार्जनको विषय के हो र मधेसीसँग भएको सहमति के हो ? भन्दै प्रश्न गरेको थियो । खरेलले परिमार्जनको विषयबारे एमालेलाई कुनै जानकारी नदिइएको भन्दै त्यसले समस्या सुल्झनु भन्दापनि थप उल्झन हुने प्रतिक्रिया दिए ।
यस्तै उनले चुनाव पछिमात्रै बजेट ल्याउनुपर्छ भन्नेमा पनि एमाले दृढ भएको पनि बताए । उनले भने– हिजो हामी जुन पोजिसनमा थियौं, त्यसमा अडिग छौं। बजेट पनि चुनाव अघि आउन सक्दैन भनेर हामीले बैठकमा प्रष्ट रुपमा भनेका छौं ।
यस्तै राष्ट्रिय जनता पार्टीका नेता अनिल झाले संशोधन प्रस्तावलाई पारित गराउने विषयमा बैठकमा छलफल भएको जानकारी दिँदै प्रस्ताव पारित हुने सम्भावना बढेर भएको दाबी गरे ।
बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले एमालेले पनि संशोधन प्रस्तावमा साथ दिने भन्दै अब प्रस्ताव पारित हुने अवस्था आएको र चुनाव सहज बन्दै गएको बताए ।
झाले भने–‘प्रधानमन्त्रीजीले संविधान संशोधनमा सहयोग गर्न सबै दललाई आग्रह गर्दै पहिलो चरणको चुनाव भइसकेपछि मत गणना गर्ने कि, अर्को चुनावसम्म राख्ने भन्ने विषय राख्नुभयो, अनि बजेटलाई दुई चरणको चुनाव बीचमा राख्ने कि के गर्ने भन्ने विकल्पमा छलफलका लागि आग्रह गर्नुभयो ।
उनले आफूहरुले भने संशोधन विधेयक पहिले टुंग्याउन आग्रह गरेको बताए ।
बैठकमा कांग्रेस नेता रामचन्द्र पौडेलले पनि संशोधनमा विलम्ब गर्न नहुनेमा जोड दिएका थिए बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा भने मौन बसेका थिए ।
बैठकमा मधेसी दलबाट उपेन्द्र यादव, रामजनम चौधरीलगायतले पनि धारणा राख्दै संविधान संशोधन गरेर चुनावको वातावरण बनाउन जोड दिएका थिए ।