
पोखरा महानगरपालिकाले महिलाका लागि छुट्टै क्वारेन्टीनको व्यवस्था गरेको छ ।
पोखरा महानगरपालिका–३ स्थित बुद्ध अस्पताललाई क्वारेन्टीन बनाएको हो । विदेशबाट आउने महिलालाई राख्न महानगरले पोखराका विभिन्न ठाउँमा स्थानको खोजी गरिरहेको थियो ।
लामो समयसम्म सञ्चालनमा नरहेको सो अस्पताललाई क्वारेन्टीनको लागि प्रयोगमा ल्याउन खोजिएको हो । सो अस्पतालमा ५० जना राख्न सक्ने क्षमता रहेको छ ।
वडा नम्बर ३ का अध्यक्ष रवीन्द्रबहादुर प्रजु, महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ, स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा, महानगरका अधिकृत किरण कोइराला सहितको टोलीले अस्पताल निरीक्षण गरेका थिए । क्वारेन्टीन लागि उपयुक्त रहेको निष्कर्षसहित उपप्रमुख गुरुङले २० जनाका लागि शय्या तयार गर्न निर्देशन दिइन् ।
स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसहित २० जना राख्न सकिने गरी आवश्यक व्यवस्था भएको उनले जानकारी दिइन् । उनले भनिन्, ‘भारतबाट ८ महिला पोखरा आउँदै हुनुहुन्छ, उहाँहरूलाई राख्नुपर्छ ।’ महिलालाई सुरक्षित वातावरण खाँचो औंल्याउँदै उक्त प्रबन्धसहित क्वारेन्टीन बनाइने उनको भनाइ थियो ।
उनका अनुसार क्वारेन्टीनमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी समेत महिला राखिने छ । परिवारसहित आउनेलाई अन्य क्वारेन्टीनमा राख्न सकिने छ भने एक्लाएक्लै आउने महिलालाई छुट्टै राख्ने व्यवस्था गरिएको हो । भारतलगायत अन्य देशबाट आउने महिलालाई नदीपुरमा राखिने छ ।