
सरकारले झण्डै तीन महिनादेखि ठप्प रहेको व्यवसाय सञ्चालन गर्ने अनुमति दिए पनि सपिङ मलमाथि प्रतिबन्ध कायमै राखेर विभेद गरेको मल व्यवस्थापक उज्वल केसीले बताएका छन् ।
सुरक्षा, सरसफाइ एवं अन्य सुविधाका हिसाबले परम्परागत पसल र किनमेल केन्द्रको तुलनामा निकै व्यवस्थित सपिङ मलमाथिको प्रतिबन्धले सर्वसाधारण र व्यवसायी अचम्ममा परेको उनले बताएका छन् ।
उनले स्वास्थ्य सुरक्षाका कुनै पनि मापदण्ड अवलम्बन नगर्ने परम्परागत पसल र सपिङ सेन्टरहरू खोल्न पाउने तर आधुनिक सुविधासम्पन्न मल खोल्न नपाउने सरकारको निर्णयबाट व्यवसायीले विभेद गरेको जनाउँदै यसो हुँदा करोडौंको लगानी डुब्ने र हजारौंको रोजगारी खोसिने खतरा बढेको बताए ।
उनले भनेका छन्, ‘सामान्यतया कुनै रोग र महामारीको जोखिम नभएको अवस्थामा पनि सपिङ मलहरूले सरसफाइमा निःसंक्रमित रसायनहरू प्रयोग गर्दै आएका हुन्छन् । व्यवस्थित र सफा शौचालय फराकिलो ठाउँ तथा उपयुक्त पूर्वाधारका कारण आधुनिक सपिङ मलहरूमा सामान्य अवस्थामै पनि कोभिड १९ को संक्रणण रोक्न अपनाउनुपर्ने दुई मिटरको सामाजिक दुरी कायम भइरहेको हुन्छ । त्यसमाथि कोरोना भाइरस संक्रमणको जोखिम रहेको अहिलेको अवस्थामा परम्परागत किनमेल केन्द्रहरूमा भन्दा सपिङ मलमा विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुसारको स्वास्थ्य सुरक्षा मापदण्ड लागू गर्न/गराउन सजिलो छ । सपिङ मल सञ्चालक एवं त्यहाँ व्यवसाय गरेर बसेका व्यवसायीहरू अहिलेको परिप्रेक्ष्यमा स्वास्थ्य सुरक्षा र सरसफाइप्रति अझ बढी सजग छन् । पर्याप्त सुरक्षाकर्मी, सिसी क्यामेरा तथा पर्याप्त स्थानले गर्दा सपिङ मलमा आउने ग्राहकले सुरक्षा सावधान अपनाए/नपअनाएको, स्यानिटाइजर प्रयोग गरे/नगरेको जस्ता कुराको अनुगमन गर्न सपिङ मलमा सजिलो हुन्छ ।’