
पर्वत जिल्ला अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मीमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमण पुष्टि भएको छ । उनीहरूमध्ये २ पुरुष र ३ महिला हुन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार विज्ञप्ति जारी गर्दै ५ स्वास्थ्यकर्मीसहित गण्डकी प्रदेशमा थप ३२ जनामा कोभिड- १९ संक्रमण भेटिएको पुष्टि गरेको हो ।
कोरोनाभाइरस नियन्त्रण तथा उपचारका लागि पर्वतको गुप्तेश्वर बहुमुखी क्याम्पसमा पर्वत कोरोना अस्थायी अस्पतालको रूपमा सञ्चालन गरिएको थियो ।
सो अस्पतालमा खटिएका जिल्ला अस्पतालका स्वास्थ्यकर्मीमध्ये २ डाक्टर, १ स्टाफ नर्स, १ ल्याब असिस्टेन्ट र १ कार्यालय सहायकमा कोरोना पुष्टि भएको हो ।
यससँगै पर्वतमा मात्रै कुल ४३ जनामा कोरोना पुष्टि भएको छ । ८ जना निको भई घर फर्केको स्वास्थ्य कार्यालयका प्रवक्ता प्रवीण भण्डारीले जानकारी दिए ।
उनका अनुसार गुप्तेश्वरमा ती स्वास्थ्यकर्मीहरू संक्रमितको उपचारका लागि ७ दिनसम्म खटिएको र थप ७ दिनसम्म क्वारेन्टीन बसेकोमा उनीहरूको समेत स्वाब संकलन गरी परीक्षणका लागि पोखरा पठाइएको थियो ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा उनीहरूको रिपोर्ट अन्ततः पोजेटिभ देखिएको हो ।
संक्रमितको कन्ट्याक्ट ट्रेसिङ लगायत कार्यका लागि सरोकारवालाको बैठक बसेको भण्डारीले जानकारी दिए ।
गुप्तेश्वरस्थित पर्वत कोरोना अस्पतालमा बिहीबारसम्म ३० जना संक्रमितको उपचार भइरहेको थियो । प्रदेशमै स्वास्थ्यकर्मीमा समेत कोरोना पुष्टि भएको पहिलोपटक हो ।
यसैबीच गण्डकी प्रदेशअन्तर्गत तनहुँमा १७ जना, बागलुङका १० जना नयाँ संक्रमित फेला परेका छन् । योसहित प्रदेशमा कुल संक्रमित संख्या ३ सय ८० पुगेको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रवार बिहान पनि पहिलो विज्ञप्ति जारी गरी कास्कीका ६ सहित २४ जनामा कोरोना संक्रमण देखिएको जनाएको थियो ।
यसरी पछिल्लो २४ घण्टामा मात्रै ५६ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि बिहीबार एकैदिन ७७ जनामा कोरोना संक्रमण भेटिएको थियो ।
निर्देशनालयको पछिल्लो विज्ञप्तिअनुसार तनहुँको घिरिङ गाउँपालिकामा १७ जनामा कोरोना देखिएको छ । तीमध्ये ३ महिला छन् ।
यस्तै बागलुङ नगरपालिकाका ५ जना पुरुष, ढोरपाटन नगरपालिकामा ४ जना पुरुष र १ जना महिला छन् ।
गण्डकीका ११ जिल्लामध्ये मुस्ताङबाहेक सबैमा कोरोना फैलिएको छ ।
कुल संक्रमितमध्ये हालसम्म २१ जना निको भएका छन् भने १ जनाको ज्यान गएको छ ।
हेर्नुहोस्, विज्ञप्ति :
