०७ साउन २०८३, बिहीबार

खादा लगाएर मिठाइ खुवाउँदै घर पठाइएका ७ जनामा पुनः कोभिड पोजेटिभ !

असार ५, २०७७
खादा लगाएर मिठाइ खुवाउँदै घर पठाइएका ७ जनामा पुनः कोभिड पोजेटिभ !

पश्चिम नवलपरासीमा कोरोनाभाइरस (कोभिड– १९) संक्रमण भई आइसोलेसनमा बसेर घर पठाइएका ७ जनामा पुनः कोभिड– १९ पोजेटिभ देखिएको छ ।

बिहीवार घर पठाउने क्रममा उनीहरूलाई प्रदेश सभा सदस्य, गाउँपालिका अध्यक्ष, स्वास्थ्य कार्यालय प्रमुख र वडाध्यक्षले खादा लगाउँदै मिठाइ खुवाएर बिदाइ गरेका थिए । 

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका उनीहरूलाई भारतबाट आएपछि क्वारेन्टाइनमा राखिएको थियो । 

स्वाब संकलन गरी परीक्षण गर्दा कोभिड– १९ पोजेटिभ देखिएपछि उनीहरूलाई पाल्ही प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा पठाइएको थियो ।

आइसोलेसनमा बसेका उनीहरूको पुन ः स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । १४ दिन आइसोलेसनमा बसेका उनीहरूलाई रिपोर्ट नआउँदै घर पठाइएको हो । 

शुक्रवार बिहान उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले बताए । ‘आइसोलेसनमा बसेकाहरूलाई परीक्षण नगरी घर पठाउने आदेश छ । तै पनि हामीले उनीहरूको स्वाब संकलन गरेर पठाएका थियौं, रिपोर्ट नआउँदै घर पठाइएका उनीहरूमा पुन पोजेटिभ देखियो,’ ढकालले भने । 

सरकारले लक्षण नदेखिएका र १४ दिन क्वारेन्टीनमा बसेकालाई पुन: परीक्षण नगरी घर पठाउने गरेको छ ।

त्यसैगरी आरडीटी नेगेटिभ देखिएपछि घर पठाइएका सोही गाउँपालिकाका अर्का एक जनामा पनि पीसीआर रिपोर्ट पोजेटिभ देखिको छ ।

क्वारेन्टीनमा बस्दा उनीसँगै बसेकाको रिपोर्ट पोजेटिभ आएपछि कन्ट्याक्ट ट्रेसिङका क्रममा उनको स्वाब संकलन गरिएको थियो ।

क्वारेन्टाइनमा बस्दा संक्रमितसँग सुर्ती मागेर खाएको बताएपछि स्वाब नमूना संकलन गरिएको थियो । १५ दिनसम्म घर बसेका उनमा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य कार्यालय प्रमुख ढकालले बताए । 

उनीसँग सम्पर्कमा आएका व्यक्तिहरूको पनि कन्ट्याक्ट ट्रेसिङ गरिने छ ।

संक्रमित देखिएकाहरूमा कोरोनाको लक्षण नदेखिएको ढकालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्