०३ असार २०८३, बुधबार

मन्त्री नेम्वाङद्वारा भैँसेपाटीमा निर्माणाधीन मन्त्री निवास भवन निरीक्षण

मन्त्री नेम्वाङद्वारा भैँसेपाटीमा निर्माणाधीन मन्त्री निवास भवन निरीक्षण

भौतिक पूर्वाधार तथा यातायात एवं शहरी विकास मन्त्री वसन्तकुमार नेम्वाङले निर्माणाधीन मन्त्री निवासको निरीक्षण गरेका छन् ।

मन्त्री नेम्वाङले सैँबु भैँसेपाटीमा निर्माण भइरहेको संघीय मन्त्री निवासको शनिवार स्थलगत अनुगमन निरीक्षण गरेका हुन् ।

स्थलगत अनुगमनपछि मन्त्री नेम्वाङले शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक, आयोजना प्रमुख र निर्माण कम्पनीलाई तोकिएकै समयमा आयोजना सम्पन्न गर्न निर्देशन दिए ।

लकडाउनका कारण तीन महिना काममा गतिरोध भएपनि अब निर्माण कार्यलाई सामान्य रूपमै अघि बढाउनु पर्नेमा उनले जोड दिए ।

मन्त्री नेम्वाङले भने– ‘अब निर्माण क्षेत्रलाई सामान्य अवस्थाकै रूपमा अगाडि बढाउनुपर्छ । आवश्यक स्वास्थ्य सुरक्षाका उपायहरू अपनाएर कामलाई सामान्य रूपमै अघि बढाउने कार्ययोजना बनाउनुहोस् ।’ 

उनले भौतिक पूर्वाधार निर्माणका क्षेत्रलाई सरकारले सामान्य रूपमै अघि बढाउने निर्णय गरिसकेकाले निर्माण सामग्री ढुवानी तथा कामदार व्यवस्थापनमा कुनै समस्या नहुने बताए ।

समस्या आए आफूले समन्वय गर्ने समेत उनले उल्लेख गरे ।

संघीय मन्त्री निवासको गत साल असोजमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।

पुल्चोकस्थित मन्त्री निवास साँघुरो भएकाले भैँसेपाटीमा अत्याधुनिक मन्त्री निवास निर्माण गर्न लागिएको हो । संघीय मन्त्रीको निवाससँगै यहाँ प्रदेश सम्पर्क कार्यालयहरू समेत रहनेछन् ।

दुई भागमा निर्माण भइरहेको निवास क्षेत्रको कुल क्षेत्रफल १ सय २४ रोपनी ६ आना रहेको छ । पहिलो ९६ रोपनी १० आनामा २४ ब्लक मन्त्री निवास, एक राष्ट्रियसभा अध्यक्ष निवास, एक राष्ट्रियसभा उपाध्यक्ष निवास र एक प्रतिनिधिसभाका उपसभामुख गरी २७ ब्लक रहनेछन् । 

दोस्रो २७ रोपनी १२ आना क्षेत्रफलमा प्रदेश प्रमुख र मुख्यमन्त्रीको सम्पर्क कार्यालय रहनेछ, यहाँ सातवटा ब्लक रहेको छ ।

प्रत्येक ब्लकमा दुईवटा इकाई रहनेछन् । एउटा प्रदेश प्रमुख र अर्को मुख्यमन्त्रीका लागि हुनेछ । सबै भवनहरू साढे दुई तलाको बन्नेछन् । 

संघीय मन्त्री निवासको कुल लागत १ अर्ब ३ करोड ४६ लाख ६८ हजार ४ सय ३७ रुपैयाँ (भ्याटसहित) रहेको छ ।

यस योजना निर्माणको ठेक्का स्रिको हनुमान जेभीले पाएको छ ।

प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालयको कुल लागत ७२ करोड ४७ लाख ९४ हजार ८ सय ३४ रुपैयाँ ६५ पैसा (भ्याटसहित)  रहेको छ । यसको निर्माण ठेक्का केसी समानान्तर जेभीले पाएको छ । 

त्यस्तै मन्त्री नेम्वाङले शनिबार नै गोदावरीमा निर्माण भइरहेको ३ हजार सिट क्षमताको सम्मेलन केन्द्रको पनि अनुगमन निरीक्षण गरेका छन् ।

मन्त्री नेम्वाङले आयोजना प्रमुख तथा निर्माण कम्पनीका प्रतिनिधिहरूसँग भौतिक प्रगतिबारे जानकारी लिनुका साथै  समयमै काम सम्पन्न गर्न निर्देशन दिए ।

उनीसँगै अनुगमनमा सांसद नवराज सिलवाल, प्रधानमन्त्रीका विकास विज्ञ गजेन्द्र थपलिया र शहरी विकास सचिव मधुसुदन अधिकारी पनि सहभागी थिए ।

salt training

कमेन्ट गर्नुहोस्