
भौतिक पूर्वाधार तथा यातायात एवम सहरी विकास मन्त्री बसन्तकुमार नेम्वाङ्गले निर्माणाधिन मन्त्री निवासको निरीक्षण गरेका छन् ।
सहरी विकास मन्त्रालय अन्तर्गत सैबु भैंसेपाटीमा निर्माण भइरहेको संघीय मन्त्री निवासको शनिवार स्थलगत अनुगमन निरीक्षण गरेका हुन् ।
स्थलगत अनुगमनपछि मन्त्री नेम्बाङले सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक, आयोजना प्रमुख र निर्माण कम्पनीलाई तोकिएकै समयमा आयोजना सम्पन्न गर्न निर्देशन दिए ।
लकडाउनका कारण तीन महिना काममा गतिरोध भएपनि अब निर्माण क्षेत्रलाई सामान्य रुपमै अघि बढाउनु पर्नेमा जोड दिए । उनले भने,‘अब निर्माण क्षेत्रलाई सामान्य अवस्थाकै रुपमा अगाडी बढाउनु पर्छ । आवश्यक स्वास्थ्य सुरक्षाका उपायहरु अपनाएर कामलाई सामान्य रुपमै अघि बढाउने कार्ययोजना बनाउनुहोस् ।’
उनले भौतिक पूर्वाधार निर्माणका क्षेत्रलाई सरकारले सामान्य रुपमै अघि बढाउने निर्णय गरिसकेकाले निर्माण सामग्री ढुवानी तथा कामदार व्यवस्थापनमा कुनै समस्या नहुने बताउनु भयो । समस्या आए आफुले समन्वय गर्ने समेत उल्लेख गरे ।
संघीय मन्त्री निवासको गतसाल असोजमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नु भएको थियो । पुलचोक मन्त्री निवास साँघुरो भएकाले भैंसेपाटीमा अत्याधुनिक मन्त्री निवास निर्माण गर्न लागिएको हो । संघीय मन्त्रीको निवाससँगै यहाँ प्रदेश सम्पर्क कार्यालयहरु समेत रहनेछन् ।
दुई भागमा निर्माण भइरहेको निवास क्षेत्रको कुल क्षेत्रफल १ सय २४ रोपनी ६ आना रहेको छ । पहिलो ९६ रोपनी १० आनामा २४ ब्लक मन्त्री निवास, एक राष्ट्रियसभा अध्यक्ष निवास, एक राष्ट्रियसभा उपाध्यक्ष निवास र एक प्रतिनिधिसभाका उपसभामुख गरी २७ ब्लक रहनेछन् ।
दोस्रो २७ रोपनी १२ आना क्षेत्रफलमा प्रदेश प्रमुख र मुख्यमन्त्रीको सम्पर्क कार्यालय रहनेछ । यहाँ सातवटा ब्लक रहेको छ । प्रत्येक ब्लकमा दुईवटा इकाई रहनेछन् । एउटा प्रदेश प्रमुख र अर्को मुख्यमन्त्रीको लागि हुनेछ । सबै भवनहरु साढे दुई तलाको बन्नेछन् ।
संघीय मन्त्री निवासको कुल लागत १ अर्ब ३ करोड ४६ लाख ६८ हजार ४ सय ३७ रुपैयाँ (भ्याटसहित) रहेको छ । यस योजना निर्माणको ठेक्का स्रिको हनुमान जेभीले पाएको छ । त्यस्तै प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालयको कुल लागत ७२ करोड ४७ लाख ९४ हजार ८ सय ३४ रुपैयाँ ६५ पैसा (भ्याटसहित) रहेको छ । यसको निर्माण ठेक्का केसी समानान्तर जेभीले पाएको छ ।
त्यस्तै मन्त्री नेम्वाङ्गले शनिबार नै गोदावरीमा निर्माण भइरहेको ३ हजार सिट क्षमताको सम्मेलन केन्द्रको पनि अनुगमन निरीक्षण गर्नु भएको छ ।
मन्त्री नेम्वाङ्गले आयोजना प्रमुख तथा निर्माण कम्पनीका प्रतिनीधिहरूसँग भौतिक प्रगति बारे जानकारी लिनुका साथै समयमै काम सम्पन्न गर्न निर्देशन दिएका छन् । उनीसँगै अनुगमनमा सांसद नवराज सिलवाल, प्रधानमन्त्रीका विकास विज्ञ गजेन्द्र थपलिया र सहरी विकास सचिव मधुसुदन अधिकारी सहभागी रहेका थिए ।