२४ असार २०८३, बुधबार

‘युवा स्वरोजगार र युवा लक्षित कार्यक्रम’ सञ्चालन गर्दै गाउँपालिका

‘युवा स्वरोजगार र युवा लक्षित कार्यक्रम’ सञ्चालन गर्दै गाउँपालिका

कास्कीको अन्नपूर्ण गाउँपालिकाले कृषिमा युवालाई आकर्षण बढाउन ‘युवा स्वरोजगार र युवा लक्षित कार्यक्रम’ सञ्चालन गर्ने भएको छ ।

गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रममा ‘कृषि क्षेत्रको अभिवृद्धि अन्नपूर्ण गाउँपालिकाको समृद्धि’ भन्ने नाराका साथ उनीहरुलाई कृषिमा आकर्षण गराउन सो कार्यक्रम सञ्चालन गरिने उल्लेख गरेको छ ।

 कार्यक्रमबाट कोराना भाइरसको जोखिमबाट सिर्जित असामान्य अवस्थाका कारण वैदेशिक तथा स्वदेशमा रोजगारी गुमाएका युवाका ज्ञान, सीप र अनुभवलाई प्रयोग गरी  स्वरोजगार तुल्याउनुका साथै आन्तरिक उत्पादनमा आत्मनिर्भरता कायम गरिने गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिए। 
 
    कृषि क्षेत्रको विकास र प्रवद्र्धन गर्न गाउँपालिका भित्रका विभिन्न कृषियोग्य जमिनलाई सम्भाव्यताका आधारमा तरकारी, फलफुल तथा नगदे बालीका पकेट क्षेत्रको रूपमा  घोषणा गरिने, मौसमी तथा बेमौसमी तरकारी तथा फलफुल उत्पादन तथा माटोको परीक्षण गरी आधुनिक तरिकाले कृषिलाई व्यवसायिकरण गर्न प्रोत्साहित गरिने गाउँपालिकाले नीति लिएको छ ।

    कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रीकरण, विशिष्टीकरण र व्यवसायिकीकरण गरी उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिइने उहाँले जानकारी दिए।  उहाँका अनुसार यसका लागि जग्गा चक्लाबन्दी, गह्रासुधार र यन्त्र उपकरणमा दिँदै आएको अनुदान, प्लास्टिक टनेल, पक्की टनेल निर्माण र एक घर एक टनेल निर्माण कार्यलाई अभियानका रूपमा  सञ्चालन गरिनेछ ।

    गाउँपालिकाभित्र कृषिको सम्भावना भएका वडामा चिस्यान केन्द्र स्थापना गर्ने एवम् उत्पादित कृषि उपजलाई बजारीकरणका लागि ढिकुरपोखरी र नयाँपुलमा कृषि उपज सङ्कलन तथा बजारीकरण केन्द्र स्थापना गर्ने भनिएको छ । ती केन्द्र कृषक समूहमार्फत सञ्चालन गरी कृषकले उत्पादित वस्तुको उचित मूल्य प्राप्त गर्ने अवस्थाको सिर्जनाका लागि प्रदेशसँगको साझेदारीमा आवश्यक प्रक्रिया अगाडि बढाइने उल्लेख छ ।

    गाउँपालिकामा सङ्घीय सरकारबाट सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र गण्डकी प्रदेश सरकारबाट सञ्चालित मुख्यमन्त्री वातावरण मैत्री नमूना कृषि गाउँ कार्यक्रमलाई प्रभावकारी तुल्याउँदै त्यस क्षेत्रमा कृषिको विशेष पकेट क्षेत्र स्थापना गर्ने नीति अङ्गीकार गरिने  उहाँले बताउनुभयो ।

    नगदे बालीतर्फको विशेष जोनका रूपमा  सञ्चालित कफी जोन, अलैँची जोन र सुन्तला पकेट जोनका कार्यक्रमलाई प्रदेशसँगको समन्वयमा विकास, विस्तार गर्नाका साथै स्थानीय कृषकको आयआर्जनको मुख्य क्षेत्रका रूपमा  स्थापित गर्दै जाने नीति अङ्गीकार गरिने गाउँपालिकाले जनाएको छ ।

    उहाँका अनुसार कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि विगतमा सञ्चालित अधुरा सिँचाइ आयोजनालाई सम्पन्न गर्न सङ्घ र प्रदेश सरकारसँग समन्वय गर्दै साना सिँचाइ कार्यक्रम गाउँपालिकाबाट सञ्चालन गरी सिञ्चित भूमिमा उत्पादनमुखी विशेष कार्यक्रम सञ्चालन  गरिने छ । 
 

salt training

कमेन्ट गर्नुहोस्