२१ जेठ २०८३, बिहीबार

काठमाडौं धुलो पखाल्न मध्यरातमा ‘इश्वर’ सडकमा उत्रिएपछि....

कात्तिक २०, २०७४
काठमाडौं धुलो पखाल्न मध्यरातमा ‘इश्वर’ सडकमा उत्रिएपछि....

काठमाडौं, १६ वैशाख –शनिवार विहान राजधानीको प्रदर्शनीमार्ग पुग्ने जोकोही अचम्ममा परे । सधैं धुलोले ढपक्कै ढाकिने यो मार्गको सडक सफाचट् देखिन्थ्यो । मूल सडक र पेटीमात्रको के कुरा एकपत्र ढुलो टाँसिएका किनाराका रुखविरुवा नुहाएर हराभरा र स्वच्छ देखिन्थे ।

शनिवार विहानको प्रदर्शनीमार्गको सडक वास्तवमा टेक्नै संकोच लाग्ने खालको देखिन्थ्यो । टेक्दा फोहोर र धुलो लाग्ला कि भन्ने संकोच !

अघिल्लो बेलुकी त्यही बाटो हिँडेकालाई लाग्यो –एकै रातमा यो सडक कसरी यस्तो भयो !


वास्तवमा अघिल्लो रात काठमाडौं महानगरपालिकाले प्रदर्शनीमार्गको यो खण्डको सडक बढारेर, पानी हालेर सफा गरी चिटिक्क बनाएको थियो । दिनमा आवतजावत र सवारीको चाप अत्यधिक हुने हुँदा महानगरपालिकाले रातमा सडक सफा गरेको थियो । 

शुक्रवार राती ९ बजेतिर हामी प्रदर्शनी मार्गको सडक पुग्दा ८ वटा ट्याङ्कर र जेट मेसिनले जोडतोडले सडक सफा गर्दै थिए । झण्डै डेढ दर्जन मानिस पानी हालेर सडक सफा गर्न व्यस्त थिए ।

महानगरपालिकाले तेस्रो दिन अथार्त शुक्रवार प्रदर्शनीमार्गको सडक सफा गरेको थियो । यसअघि यही वैशाख ११ गते महानगरपालिकाले कमलादी चोकदेखि पुतलीसडकको न्यूप्लाजासम्म र १३ गते न्यूप्लाजादेखि माइतीघरमण्डला तथा भद्रकालीदेखि सिंहदरवारसम्मको सडक सफा गरेको थियो ।

शुक्रवार सडक सफाईमा आफैं हेलिएका काठमाडौं महानगरपालिका कार्यालयका प्रमुख कार्यकारी अधिकृत ईश्वरराज पौडेलको मुहारमा खुसीको आभा देखिन्थ्यो । सडक सफा गर्न र कर्मचारीको हौसला बढाउन उनी आफैं सडकमा ओर्लिएका थिए ।

‘हेर्नूस् त सडक कति सफा भयो !’ उनी भन्दै थिए, ‘सडकमात्र सफा भए पनि काठमाडौंबासीलाई ठूलो राहत मिल्ने थियो ।’


वास्तवमा सडक सफा गर्ने जिम्मेवारी महानगरपालिकाकै हो । र, त्यसको कार्यकारी अधिकृतको हैसियतले यसको जिम्मेवारी पौडेलकै हो । तर, काठमाडौंबासीलाई यस्तो छाप बसेको छ कि सडक सफा गर्ने काम महानगरपालिकाको होइन ।

आफ्नै कार्यक्षेत्र भए पनि उस्तै नगरी नहुने समयमाबाहेक महानगरपालिकाले सडक सफा गरेको छैन । जस्तो पछिल्लो समय सार्क शिखर सम्मेलनमा केही सडकमा महानगरपालिकाले पानी हालेर सफा गरेको थियो । तर, त्यो आम काठमाडौंबासीका निम्ति भने थिएन ।

यस्तो स्थितिमा महानगरपालिकाले केही गर्दैन भन्ने छाप काठमाडौंबासीलाई पर्नु स्वभाविक हो ।


तर, करीव २ महिनाअघिमात्र महानगरपालिकाको नेतृत्व सम्हाल्न आईपुगेका पौडेल अहिले महानगरपालिकाको यो पुरानो नकारात्मक छवि सच्याउने धाउन्नमा छन् ।

‘सडक सफा गर्ने, फोहोर व्यवस्थापन गर्ने लगायतका आमजनताका आधारभूत सरोकारका विषयमा काम गर्न महानगरपालिकालाईसँग केही समस्या छैन,’ कार्यकारी अधिकृत पौडेल भन्छन्, ‘यो त यसअघि नगरिएकोमात्र रहेछ ।’


आफू कार्यकारी अधिकृत भएको एक महिनामै पौडेलले सार्वजनिक कार्यक्रम आयोजना गरेरै ३० बुँदे कार्ययोजना प्रस्तुत गरेका थिए । महानगरपालिकाबासीलाई राहत मिल्ने गरी धुलो नियन्त्रण गर्ने, फोहोर व्यवस्थापन गर्ने, फूटपाथ व्यवस्थापन गर्ने, वृक्षरोपण गर्ने, सार्वजनिक शौचालय बनाउने, सार्वजनिक सवारी व्यवस्थापन गर्नेजस्ता कार्ययोजना उनले सार्वजनिक गरेका थिए ।

उनको योजनामा समेटिएको ध्वनी प्रदूषण नियन्त्रण पछिल्लो समय प्रभावकारी बनेको छ । उनी भन्दै थिए, ‘हेर्नुस् त हामीले सोचेको ध्वनी प्रदूषण नियन्त्रण अहिले कति प्रभावकारी भएको छ !’ ध्वनी नियन्त्रणको सफल कार्यान्वयनले उनलाई अरु काम गर्न पनि हौस्याएको रहेछ । ‘अब हामी आम महानगरपालिकाबासीको हितका लागि अन्य कामहरू पनि गर्दै जानेछौं,’ उनले भने ।


महानगरपालिकाबासीको हितका लागि ‘फिल्ड’ मै पुगेर काममा हेलिने गरेका छन् उनी । शुक्रवार पनि कार्यालयको काम सकेर सडक सफा गर्न उनी स्वयं प्रदर्शनीमार्ग आएका थिए । राती ११ बजेसम्म अरु कर्मचारीझैं उनी सडक सफाइको काममा लागेका थिए ।  



महानगरपालिका कार्यालयका कार्यकारी अधिकृत पौडेल अब धुलो नियन्त्रण र सडक सफाई अभियानलाई व्यापक बनाउने योजनामा छन् । यसका लागि उपकरण खरिद, जनशक्ति व्यवस्थापन र आर्थिक स्रोत जुटाउनेबारे पनि आफूले योजना बनाइरहेको उनले बताए ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल), सडक विभाग र निजी संघसंस्था तथा उपभोक्तासमेतको सहयोग र समन्वयमा धुलो नियन्त्रण, सडक सफाई, फोहोर व्यवस्थापन लगायतलाई व्यापक र प्रभावकारी बनाउने उनको योजना छ । त्यसका लागि निजी बैंक तथा संघसंस्थासँग समन्वय गरेर सामाजिक उत्तरदायित्व शिर्षकमा तीनले विनियोजन गर्ने बजेट र स्रोतसाधनलाई महानगरपालिका अन्तर्गत ल्याएर परिचालन गर्ने उनको योजना छ । त्यस्तै, केयुकेएलसँग ट्याङ्कर र जेटमेसिनको सहयोगका लागि पनि पहल भइरहेको उनले बताए । आवश्यक परे उपभोक्ताबाटै पनि सहयोग लिन सकिने उनी बताउँछन् ।

अहिले महानगरपालिकासँग धुलो नियन्त्रणका लागि सडक पखाल्ने ५ वटा जेट मेसिन र ६ वटा ट्याङ्कर छ । ४ वटा जेट मेसिन थप्ने योजना रहेको उनले बताए । ‘हामीसँग ८ वटाजति जेट मेसिन र ६ वटाजति ट्याङ्कर भए १० दिनभित्र महानगरपालिकाका सबै सडक सफा गर्न सकिन्छ,’ उनले भने ।

सडक पखाल्न पानीको पनि समस्या नभएको महानगरपालिका बताउँछ । महानगरपालिकाले आफ्नै स्रोतबाट बोरिङको पानी ल्याएर सडक सफा गर्छ । मेलम्ची आयोजनाका कारण भत्किएका सडकमा भने पखाल्न नमिल्ने उनले बताए ।

त्यस्तै, धुलो नियन्त्रणका लागि बु्रमर मेसिन खरिदको प्रक्रिया पनि अघि बढिसकेको महानगरपालिका बताउँछ । ५ वटा उच्च प्रविधि र क्षमतायुक्त ब्रुमर खरिदका लागि ९ करोड रुपैयाँ अर्थ मन्त्रालयले विनियोजन दिइसकेको उनले बताए । हाल महानगरपालिकासँग एउटा सानो ब्रुमर मेसिन भए पनि प्रयोगमा छैन ।

सडक सफाई अभियानलाई अब दिगो र निरन्तरता दिईने कार्यकारी अधिकृत पौडेलले प्रतिवद्वता जनाए ।

यो पनि पढ्नुहोस् :
काठमाडौं महानगरपालिकाको सुधार योजना धुलो नियन्त्रणदेखि स्काई बससम्म

salt training

कमेन्ट गर्नुहोस्