१४ असार २०८३, आइतबार

हिजो दिनभर : वैवाहिक अंगीकृतलाई ७ वर्षको सीमा, संसदीय समितिबाट पारित भयो नागरिकता विधेयक ​

हिजो दिनभर : वैवाहिक अंगीकृतलाई ७ वर्षको सीमा, संसदीय समितिबाट पारित भयो नागरिकता विधेयक  ​

वैवाहिक अंगीकृतलाई ७ वर्षको सीमासहित संसदीय समितिबाट नागरिकता विधेयक पारित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)को फरकमतका वावजुद प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले वैवाहिक अंगीकृत नागरिकताका लागि ७ वर्षे सीमा राख्दै नागरिकता विधेयक पारित गरेको छ । आइतवार संसद सचिवालय सिंहदरबारमा बसेको समितिको बैठकले विधेयक परित गरेको हो ।

विधेयकका अधिकांश प्रावधानमा सर्वसम्मति भएपनि वैवाहिक अंगीकृत नागरिकताको विषय भने बहुमतले पारित भएको सभापति शशी श्रेष्ठले जानकारी दिइन् । आइतवारको छलफलमा सत्तारुढ दलका सांसदहरुले वैवाहिक अंगीकृत नागरिकताका लागि ७ वर्षको समयसीमा राख्न पक्षमा बोलेका थिए ।

नागरिकता ऐनमा समयानुकूल परिवर्तनका लागि भन्दै सरकारले २०७५ साउनमा संसदमा नागरिकता विधेयक दर्ता गरेको थियो । वैवाहिक अंगीकृत नागरिकतामा सहमति जुट्न नसक्दा विधेयक लामो समयदेखि संसदीय समितिमा विचाराधीन थियो ।

सरकारको नेतृत्वकर्ता संसदको सबभन्दा ठूलो दल नेकपाले शनिवार सचिवालय बैठकमार्फत वैवाहिक अंगीकृत नागरिकताका लागि ७ वर्षको समयसीमासहित विधेयक पारित गर्ने निर्णय गरेको थियो ।

समिति बैठकमा कांग्रेसका सांसदहरुले ५ बुँदे नोट अफ डिसेन्ट राखे । उनीहरुको फरक मतमा दलहरुको सहमतिमा बनेको नेपालको नागरिकता ऐन २०६३ को व्यवस्थालाई निरन्तरता दिँदै सोही अनुरूप प्रस्तावित विधेयकमा संशोधन हुनुपर्ने माग छ ।

नेकपाको प्रस्तावअनुसार विधेयक संशोधन गर्दा संवैधानिक, सामाजिक र पारिवारिक जटिलता उत्पन्न गर्ने कांग्रेसको तर्क छ । नेपाली कांग्रेसका सांसदहरु दीलेन्द्र बडू, देवेन्द्रराज कँडेल, अमरेशकुमार सिंह, डा डीला संग्रौला पन्त, मीना पाण्डे र विनोद चौधरीले फरक मत राखेका हुन् ।

मधेसकेन्दित दलहरुले पनि ७ वर्ष समयसीमा राख्ने प्रस्तावको विरोध गरेका छन् । जसपाका राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ, राजकिशोर यादव र रामसहायप्रसाद यादवले समितिमा ५ बुँदे फरकमत दर्ज गरेका छन् ।

संसदीय समितिबाट पारित भएको विधेयक अब प्रतिनिधि सभाको पूर्ण बैठकमा जानेछ । प्रतिनिधि सभाको बैठकबाट पारित भएपछि यो विधेयक राष्ट्रिय सभामा जाने छ ।

नागरिकता विधेयकमा कांग्रेसको बुँदे'नोट अफ डिसेन्ट'

वैवाहिक अंगीकृत नागरिकताका लागि ७ वर्षको समयसीमा तोक्नुपर्ने प्रस्तावमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले फरक मत (नोट अफ डिसेन्ट) राखेको छ ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको आइतवार बसेको बसेको बैठकमा कांग्रेसका सांसदहरूले ५ बुँदे फरक मत राखेका हुन् ।

नेपाली कांग्रेसका सांसदहरू दिलेन्द्र बडू, देवेन्द्रराज कंडेल, अमरेशकुमार सिंह, डा. डिला संग्रौला पन्त, मीना पाण्डे र विनोद चौधरीले फरक मत राखेका हुन् ।

उनीहरूको फरक मतमा दलहरूको सहमतिमा बनेको नेपालको नागरिकता ऐन, २०६३ को व्यवस्थालाई निरन्तरता दिँदै सोहीअनुरूप प्रस्तावित विधेयकमा संशोधन हुनुपर्ने माग गरेका छन् ।

नागरिकताबारे राजपाले भन्यो: 'रोटीबेटीको सम्बन्धमा आघात पुर्याउने प्रावधान अस्वीकार्य'

नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न ७ वर्ष कुर्नुपर्ने गरी नागरिकता विधेयकमा गरिन लागेको व्यवस्थामा पुनर्विचार गर्न राष्ट्रिय जनता पार्टी (राजपाले) सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग आग्रह गरेको छ ।

राजपा संसदीय दलको आइतवार बसेको बैठकले भारतसँगको रोटी–बेटीको सम्बन्धमा प्रभाव पर्ने र महिला–महिलाबीच विभेद हुने भन्दै त्यसमा पुनर्विचार गर्न अपिल गरेको हो ।

राजपा र समाजवादी पार्टीबीच एकता भएर जनता समाजवादी पार्टी गठन भइसके पनि संसदीय दल भने एक भइसकेको छैन ।

नागरिकता ऐनमा गरिन लागेको नयाँ व्यवस्था आफूहरूलाई मान्य नहुने अध्यक्ष महन्त ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

वैवाहिक अंगीकृत नागरिकतामा वर्षको सीमा राख्ने पार्टीको निर्णयमा मातृकाको असन्तुष्टि

नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले अंगीकृत नागरिकता लिन ७ वर्ष कुर्नुपर्ने गरी गरिन लागेको व्यवस्थाप्रति नेकपा सांसद मातृका यादवले असन्तुष्टि जनाएका छन् ।

नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकबारे आफ्नै पार्टीले गरेको निर्णयप्रति असहमति जनाउँदै यादवले यसले मधेशी समुदाय मात्र नभई समग्र महिलाहरूको प्रगति,  विकास र समृद्धिमा कुठाराघात हुने टिप्पणी गरेका छन् ।

'नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकबारे हाम्रो पार्टी नेकपाको सचिवालयले गरेको निर्णयप्रति पूर्ण असहमति छ । उक्त ७ वर्षे प्रावधानले ७ वर्षसम्म राज्यविहीन बनाउँदै राजनैतिक, आर्थिक र सांस्कृतिक शोषण गर्ने र मानसिक प्रताडना दिने देखिन्छ । यस प्रकारका निर्णयले मधेशी समुदाय मात्र नभई समग्र महिलाहरूको पनि प्रगति, विकास र समृद्धिमा ठुलो कुठाराघात हुने देखिन्छ,' यादवले विज्ञप्तिमा भनेका छन् ।

वैवाहिक अंगीकृत नागरिकताका लागि विवाहको ७ वर्ष पूरा हुनुपर्ने व्यवस्था गर्ने निर्णय नेकपा सचिवालय बैठकले गरेको थियो ।​

पछिल्लो २४ घण्टामा सय २१ मा कोरोना संक्रमण पुष्टि,१९४ डिस्चार्ज

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पछिल्लो २४ घण्टामा ४२१ कोरोना संक्रमितको संख्या थपिएको जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आइतवार नियमित प्रेस ब्रिफिङका क्रममा ४२१ संक्रमितको संख्या थपिएको बताएका हुन् ।

यससँगै नेपालमा संक्रमितको जम्मा संख्या ९ हजार २६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा निको भएर डिस्चार्ज हुने कोरोना संक्रमितको संख्या १ सय ९४ पुगेको छ । नेपालमा हालसम्म १७ सय ७२ ले कोरोना जितिसकेका छन् ।

कोशी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा झापा र उदयपुरका जम्मा ११ जना, विराटनगरमा गरिएको परीक्षणमा मोरङ २, सुनसरी २, जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ८, महोत्तरीका २ र सप्तरीका २ मा संक्रमण भेटिएको हो ।

त्यस्तै नारायणी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा बाराका ३ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अर्घाखाची १६, डडेलधुरा १४, डोटी १६, गुल्मी ५, कैलाली ३, कपिलवस्तु ११, नवलपरासी पश्चिम २१, नुवाकोट १ प्युठान २०, रामेछाप १, रुपन्देही १, सर्लाही ५ सिराहाका ५२ जनामा संक्रमण देखिएको छ ।

काठमाडौँकै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका १ र पाल्पाका २ जनामा संक्रमण देखिएको छ भने धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा ४९ जनामा नयाँ संक्रमण भेटिएको हो ।

पोखरामा गरिएको परीक्षणमा बाग्लुङ २३, कास्की १, स्याङ्जा १०, मुस्ताङ १, म्याग्दी ४, नवलपरासी पूर्व २, पर्वत २ र तनहुँका ४ जनामा संक्रमण देखिएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाची ९, गुल्मी २, कपिलवस्तु १४, नवलपरासी पश्चिम १, पाल्पा २, रुपन्देहीका २ जनामा नयाँ संक्रमण भेटिएको हो । 

भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँके १, बर्दिया ३, रोल्पाका ३ जनामा संक्रमण देखिएको छ भने राप्तिमा गरिएको परीक्षणमा दाङका १० र रोल्पाका १ जनामा संक्रमण पुष्टि भएको हो ।

सुर्खेतमा गरिएको परीक्षणमा दैलेख १, सल्यान ६, सुर्खेतका २ जनामा संक्रमण पुष्टि भएको छ भने

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा अछाम २, बैतडी २, बझांग २, डडेलधुरा १७, डोटी ११, कैलाली २४, कन्चनपुरका १ जनामा संक्रमण देखिएको छ ।

कोरोनाबाट थप को मृत्यु,हालसम्म नेपालमा २३ ले गुमाए ज्यान

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोनाबाट ज्यान जानेको संख्या १ थपिएको जनाएको छ । आइतवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले १ को मृत्यु भएको बताएका हुन् ।

यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

मृतक गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका वर्ष ६९ का पुरुष हुन् । प्रवक्ता डाक्टर गौतमले दिएको जानकारी अनुसार उनी प्यारालाइसिस उपचारका क्रममा भारत गएर गत २५ गते नेपाल आएका थिए ।

नेपाल आएपछि उनी होम क्वारेन्टाइनमा बसे ।

उनको मृत्यु शुक्रवार घरमै भएको थियो । शुक्रवार नै स्वाब संकलन गरी भैरहवा पठाइएकोमा शनिवार पीसीआर पोजिटिभ देखिएको थियो ।

मृतकको शवको व्यवस्थापन शनिवार नै नेपाली सेनाको सहयोगमा व्यवस्थापन भइसकेको छ ।

आइतवार सूर्यग्रहण

आइतवार नेपाल लगायत विश्वका विभिन्न देशबाट खग्रास सूर्यग्रहण देखिएको छ ।

सूर्य र पृथ्वीको बीचमा चन्द्रमा पर्दा सूर्यग्रहण लाग्ने गर्छ । हिन्दू धर्मशास्त्रमा राहु नामक दैत्यले सूर्यलाई निल्दा सूर्यग्रहण लाग्ने मान्यता छ ।

यसपालिको सूर्यग्रहण बिहान १० बजेर ५० मिनेटबाट शुरू भएर अपराह्न २ बजेर २३ मिनेटसम्म रहेको थियो।

salt training

कमेन्ट गर्नुहोस्