
गुल्मीको इस्मा गाउँपालिका–४ दोहलीको रातापानी तथा खासु गाउँका १५ घरपरिवार पहिरोका कारण विस्थापित भएका छन् ।
शनिवारदेखि परेको लगातारको वर्षाका कारण रातापानीका ९ घर र खासु गाउँका ६ घरपरिवार विस्थापित भएका वडाध्यक्ष गनुप्रसाद अधिकारीले बताए ।
हालसम्म रातापानीका दलबहादुर घर्ती र धनबहादुर घर्तीको घर तथा ओमबहादुर घर्तीको गोठ पहिरोले बगाएको अधिकारीले बताए । उनीहरूसँगै सोही स्थानका मानबहादुर घर्ती, ईश्वरी घर्ती, रामबहादुर घर्ती, थम्मन घर्ती र मानबहादुर घर्ती विस्थापित भएका छन् ।
खासु गाउँका शिवलाल खासु र चुरामणी खासु सहितका ६ घर पहिरोका कारण विस्थापित भएका छन् । राक्से–कल्यार–फुलबारी–कृष्णनगर सडक निर्माणका कारण २ गाउँ विस्थापित भएका हुन् । सडक निर्माणको क्रममा थुपारिएको माटो बग्ने तथा जमिन भासिने भइरहेकाले आफूहरू विस्थापित भएको पीडित मानबहादुर बर्तीले बताए ।
‘कोरोना संक्रमणकै बेला घर छोडेर निकस्न बाध्य भएका छौं,’ उनले भने, ‘विस्थापित जनशक्ति प्रावि र छिमेकीको घरमा दुःख र कष्ट सहेर बसेका छौं ।’
इस्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले विस्थापितको एकीकृत व्यवस्थापन गर्न थालिएको जानकारी दिए । ठाउँको अभावमा विद्यालय र छिमेकीको घरमा रहेका विस्थापित परिवारलाई तत्काल राहत प्रदान गर्ने र प्रशासनसँग पनि समन्वय भएकाले केही दिनभित्र एकीकृत व्यवस्थापन गर्ने योजना रहेको बिष्टले बताए ।