०१ असार २०८३, सोमबार

उपेन्द्रको ‘मशाल’ लिएर चुनावमा होमिए बाबुराम

कात्तिक २०, २०७४
उपेन्द्रको ‘मशाल’ लिएर चुनावमा होमिए बाबुराम

काठमाडौं, १६ वैशाख– आसन्न स्थानीय तह निर्वाचनमा दलगत चुनाव चिह्नको विषय टुंगोमा पुगेपछि नयाँ शक्ति चुनावमा होमिएको छ ।

नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमले संयुक्त चुनाव चिह्न लिएर स्थानीय तह निर्वाचनमा सहभागिता हुने सम्झौता गरेसँगै डा. बाबुराम भट्टराई नेतृत्वाको नयाँ शक्ति उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमको चुनाव चिह्न ‘मशाल’ लिएर चुनावमा होमिएको हो ।

सरकारले संसदमा प्रतिनिधित्व गर्ने दललाई मात्र दलगत चुनाव चिह्न दिने व्यवस्थासहितको स्थानीय तह निर्वाचन ऐन ल्याएपछि नयाँ शक्तिलगायतका ६८ दलहरु चुनाव चिह्न माग गर्दै संयुक्त संघर्षमा उत्रिएका थिए । तर, सरकारले चुनाव चिह्नबाट बञ्चित दलहरुको माग सुनुवाई गर्ने कुनै संभावना नदेखिएपछि नयाँ शक्तिले संघीय समाजवादी फोरमसँग चुनावी सहकार्य अघि बढाएको हो ।

यसअघि दुई पार्टी एकताका लागि पनि सघन रुपमा छलफल चलेको थियो । चुनाव अघि पार्टी एकता हुने संभावना कम भएपछि कार्यगत रुपमा चुनावी एकताका लागि दुई दलले संघीय समाजवादी फोरमको नाममा दर्ता भएको चुनाव चिह्न एक हालले बोकेको मशाललाई संयुक्त रुपमा प्रयोग गरेर चुनावी मैदानमा उत्रिने सहमति गरेका हुन् ।

गत वैशाख १२ गते नयाँ शक्ति पार्टीका तर्फबाट संयोजक डा. बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले एकल चुनाव चिह्नको प्रयोग गरेर चुनावमा जाने सम्झौतामा हस्ताक्षर गरेका थिए । सो सम्झौतालाई निर्वाचन आयोगले समेत अनुमोदन गरेपछि दुई दल एकल चुनाव चिह्नको प्रयोग गरेर चुनावमा जाने निश्चित भएसँगै चुनावी अभियानमा होमिएका हुन् ।

चुनाव चिह्नको टुंगो लागेपछि केन्द्रदेखि स्थानीय तहसम्म नयाँ शक्तिले आफ्ना पार्टी पंक्तिलाई चुनावमा होमिन निर्देशित गरेको छ । चुनावका लागि दुई दलले संयुक्त उम्मेदवार उठाउने भएका छन् । यसका लागि दुई दलले संयुक्त रुपमा केन्द्रीय स्तरको संयुक्त चुनाव समन्वय संयन्त्र गठन गरेका छन् ।

संयन्त्रमा नयाँ शक्ति पार्टीका तर्फबाट रामचन्द्र झा, दुर्गा सोब, देवेन्द्र पौडेल, परशुराम खापुङ, परशुराम तामाङ र खिमलाल देवकोटा छन् भने संघीय समाजवादी फोरमको तर्फबाट हेमराज राई, दान बहादुर बिक, अजम्बर राई काङवाङ, धिरेन्द्र श्रेष्ठ, गणेश योजन र लालध्वज तामाङ छन् ।

एकल चुनाव चिह्न लिएर चुनाव लड्ने उम्मेदवारहरु दुई दलको संयुक्त उम्मेदवारको रुपमा चुनावी मैदानमा उत्रिनेछन् । यसका लागि हरेक स्थानीय तहका उम्मेदवारले दुई दलका अख्तियार प्राप्त प्रतिनिधिहरुबाट हस्ताक्षर र पार्टीको छाप भएको केन्द्रले तय गरेको उम्मेदवार मनोनयन पत्र पाउने नयाँ शक्ति पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने चुनावी संयन्त्रका सदस्य देवेन्द्र पौडेलले जानकारी दिए ।

त्यसैगरी स्थानीयस्तरमा उम्मेदवार चयन एवं चुनाव लक्षित अन्य संयुक्त गतिविधिमा सहजता ल्याउनका लागि गाउँ, जिल्ला र आवश्यकता अनुसार प्रदेश स्तरमासमेत दुई पार्टीको संयुक्त संयन्त्र गठन गरी चुनावी अभियान संचालन गर्न लागेको संयन्त्रका सदस्य पौडेलले बताए ।

salt training

कमेन्ट गर्नुहोस्