
कर्णाली प्रदेशसभाबाट साेमबार दुई विधेयक पारित भएका छन्।
कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशनको २०औँ बैठकले ‘सार्वजनिक र निजी क्षेत्रको साझेदारी सम्बन्धमा व्यवस्था गर्न विधेयक, २०७५ र ‘वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ सर्वसम्मतिले पारित गरेको हो।
सभामुख राजबहादुर शाहीले विभागीय मन्त्रीलाई विधेयक पारित निम्ति सभासमक्ष प्रस्तावका लागि समय दिएसँगै कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले ‘सार्वजनिक र निजी क्षेत्रको साझेदारी सम्बन्धमा व्यवस्था गर्न विधेयक, २०७५ र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले कर्णाली प्रदेशको ‘वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ लाई समितिको संशोधन प्रतिवेदनसहित पारित गरियोस् भनी सभासमक्ष प्रस्ताव गरेका थिए।
मन्त्रीद्वय ज्वाला र बुढाले सभामा विधेयक पारितका लागि प्रस्ताव गरेसँगै ‘सार्वजनिक र निजी क्षेत्रको साझेदारी सम्बन्धमा व्यवस्था गर्न विधेयक, २०७५ र ‘वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ साेमबार सर्वसम्मतिले पारित भएका छन्। सभाको अर्को बैठक यही असार १० गते अपराह्न ३ः०० बजेसम्मका लागि स्थगित भएकाे छ।