२२ असार २०८३, सोमबार

बलिउडको अँध्यारो पक्ष देखाउने फिल्म ‘सुशान्त’ बनाइने

असार १०, २०७७
बलिउडको अँध्यारो पक्ष देखाउने फिल्म ‘सुशान्त’ बनाइने

आत्महत्या गरेका बलिउड नायक सुशान्त सिंह राजपूतको जीवनकथामा आधारित फिल्म ‘सुशान्त’ बनाउने घोषणा निर्देशक सनोज मिश्रले गरेका छन् । फिल्मका निर्माता मारुत सिंह हुन् । 

यो फिल्म सुशान्तको बायोपिक नभई बलिउडको अँध्यारो पक्ष देखाउने यथार्थवादी फिल्म हुने बताइएको छ । बलिउडमा उत्पीडनको शिकार भएर भयानक कदम चाल्न बाध्य मानिसहरूको कथा यसले समेट्ने फिल्म निर्माताको भनाइ छ । 

रोड प्रोडक्सन र सनोज मिश्र फिल्म्सको ब्यानरमा बन्ने फिल्मको शूटिङ मुम्बई र बिहारमा गरिनेछ । 

निर्देशक सनोज मिश्रले भने, ‘बलिउडमा नातावाद र पर्दाको चम्किलो संसारभन्दा पछिल्तिर रहेको अँध्यारोका विषयमा हामीले फिल्म बनाउन लागेका हौं । त्यो अँध्यारोमा कैयौं सुशान्त सिंह राजपूतहरू दिनदिनै हत्या र आत्महत्या गर्छन् । उनीहरू ठूला स्टार वा सेलेब्रिटी नभएकाले मानिसलाई उनीहरूको कथा थाहै छैन ।’

मिश्रका अनुसार, सुशान्त बलिउड स्टारहरूको ए लिस्टमा उभिनै लागेका थिए । तर उनको अचानक मृत्यु हुनु दुःखद छ । उनको मृत्युमा बलिउडको पुरानो सिस्टम जिम्मेवार छ । त्यस सिस्टमलाई बहिर देशमा बसेर माफियाहरूले सञ्चालन गर्छन् । 

आफूहरूले सुशान्त फिल्ममार्फत त्यस्ता मानिसको संगठनको पर्दाफास गर्ने उनको भनाइ छ । 

निर्माता मारुत सिंहले पनि बलिउडका बदमासहरूको पर्दाफास गर्ने बताए । आफ्नो वर्चस्व कायम राख्न तिनीहरू जुनसुकै हद पार गर्न समर्थ रहेको उनले आरोप लगाए । 

फिल्ममा नयाँ कलाकार लिइने उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्