
कर्णाली प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या निरन्तर बढ्दै गएको छ ।
बुधबार कर्णालीमा २८ जनामा कोरोना पुष्टि भएसँगै कुल संख्या १ हजार ३ सय ३५ पुगेको छ ।
पछिल्लोपटक दैलेखको भगवतीमाई आइसोलेसन सेन्टरबाट ४ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट १ जना, गुटु आइसोलेसन सेन्टर सुर्खेतबाट १ जना, सालकोट आइसोलेसन सेन्टरबाट १ जना र कोटडाँडा आइसोलेसन सेन्टरबाट १ जना गरी ८ जना डिस्चार्ज भएका छन् ।
यो सँगै कर्णालीमा कोरोना जित्नेहरूको संख्या ५ सय ६५ पुगेको स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।
हाल आइसोलेसनमा ७ सय ७० जना उपचाररत छन् ।
तिवारीका अनुसार कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ छ ।
दैलेख अघिअघि, सुर्खेत पछिपछि !
कोरोना संक्रमित हुनेहरूमा कर्णालीका दश जिल्लामा दैलेख सबैभन्दा अगाडि रहेको छ भने सुर्खेतले दैलेखकै बाटो पछ्याइरहेको छ ।
दैलेखमा हालसम्म ७३६ जना कोरोना संक्रमित पुष्टि भइसकेको छ भने सुर्खेतमा ३ सय १५ जनामा कोरोना देखिएको छ ।
तेस्रो नम्बरमा सल्यान रहेको छ । सल्यानमा १७३ जनामा कोरोना देखिँदा कालिकोटमा ४४ जनामा संक्रमण पुष्टि भएको छ ।
जुम्लामा २८, अन्य प्रदेशका २२, हुम्लाका २, मुगुका २, डोल्पाका १, जाजरकोटका ११ र रुकुम पश्चिमका १ जनामा कोरोना पुष्टि भएको छ ।
अन्य प्रदेशका अछामका १० जना, बझाङका १ जना, बाजुराका १ जना, गोरखाका १ जना, दोलखाका १, रामेछाप, काठमाडौं, दाङ, रुपन्देही, सप्तरी, ताप्लेजुङ र उदयपुरका एक–एक जनामा कोरोना देखिएको हो ।
उनकाअनुसार कर्णालीमा १ हजार २१७ जना पुरुषमा कोरोना देखिएको छ भने ११८ जना महिलामा कोरोना देखिएको हो ।