०५ असार २०८३, शुक्रबार

दिल्लीमा घरपिच्छे कोरोना भाइरस परीक्षण गरिने

असार १२, २०७७
दिल्लीमा घरपिच्छे कोरोना भाइरस परीक्षण गरिने

भारतको राजधानी दिल्लीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीव्र रूपमा बढ्दै गएपछि त्यसको नियन्त्रणका लागि जुलाई ५ सम्म सबै घरमा भाइरसको परीक्षण गरिने भएको छ । दिल्ली सरकारले बुधबार कोरोना भाइरसको रोकथामको साविकको रणनीतिमा परिमार्जन गर्दै सबै घरको परीक्षण गर्ने निर्णय सार्वजनिक गरेको हो ।

पछिल्ला दिनमा दिल्लीमा कोरोना संक्रमण तीव्र रूपमा फैलिँदै गएको छ । मंगलबार एकै दिनमा कोरोना भाइरसका ४ हजार नयाँ बिरामी थपिएका थिए । यो एक दिन संक्रमित भएको हालसम्मकै बढी हो ।

दिल्लीमा मात्र कुल संक्रमितको संख्या ७० हजार नाघेको छ । यही गतिमा संक्रमण फैलिँदै जाने हो भने केही दिनभित्रै राजधानी दिल्ली भारतकै सबैभन्दा उच्च संक्रमित राज्यमा दरिने अनुमान गरिएको छ । सबैभन्दा बढी संक्रमण महाराष्ट्र छ । त्यहाँ हालसम्म १ लाख ४२ हजार जनामा कोरोना भाइरस पुष्टि भएको छ । दिल्लीमा हालसम्म २ हजार ३ सय जनाभन्दा बढीको संक्रमणबाट मृत्यु भइसकेको छ ।

संशोधित रणनीतिअनुसार ३० जुनभित्र संक्रमणको उच्च जोखिमयुक्त क्षेत्र भनेर पहिचान भएका ‘कन्टेनमेन्ट जोन’ भित्र पर्ने सबै घरमा कोरोना संक्रमणको परीक्षण गरिने भएको छ । दिल्लीमा २ सय ६१ वटा ठाउँलाई ‘कन्टेनमेन्ट जोन’ तोकिएको छ । त्यसपछि जुलाई ६ सम्म सबै घरमा कोरोना भाइरसको परीक्षण गरिने छ । त्यसैगरी कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउने, ‘कन्टेनमेन्ट जोन’ सम्बन्धी रणनीतिलाई समीक्षा गर्दै थप प्रभावकारी बनाउने र स्थानीय स्तरमा निगरानी बढाउने पनि नयाँ रणनीतिमा समेटिएको छ । विगत केही सातायता संक्रमण फैलिँदै गएका कारण नयाँ रणनीति ल्याइएको हो ।

विगत केही दिनयता कोरोना भाइरसको संक्रमण उच्च वृद्धिले भारतलाई पिरोल्न थालेको हो । भारतमा हालसम्म ४ लाख ७३ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । बुधबार एकै दिन १६ हजार ९ सय २२ नयाँ बिरामी थपिएका छन् । जुन अहिलेसम्मको सबैभन्दा बढी हो । त्यसैगरी करिब १४ हजार ८ सयभन्दाको मृत्यु भइसकेको छ । भारत विश्वका कोरोना संक्रमित मुलुकहरूको संख्यामा चौथो स्थानमा छ । हालसम्म २ लाख ५८ हजारभन्दा बढी उपचार पछि निको पनि भइसकेका छन् ।

पछिल्लो दिनमा संक्रमण बढ्ने क्रमसँगै परीक्षणलाई पनि तीव्रता दिइएको छ । भारतको स्वास्थ्य तथा महिला कल्याण मन्त्रालयका अनुसार दैनिक रूपमा दुई लाखभन्दा बढी परीक्षण हुने गरेको छ । बुधबार मात्र दुई लाख बढीको परीक्षण गरिएको थियो । मन्त्रालयका अनुसार भारतमा हालसम्म ७५ लाखभन्दा बढीको कोरोना भाइरसको परीक्षण भएको छ ।

हालका दिनमा दिल्लीले पनि परीक्षण बढाउँदै लगेको छ । मंगलबार मात्र १७ हजारको परीक्षण गरिएको जनाइएको छ । परीक्षणको दायरा बढाइएका कारण पछिल्लो समय दिल्लीमा कोरोना संक्रमितको संख्या बढी थपिएको अनुमान छ । जबकि केही साता अघिसम्म पनि दैनिक सात हजारमात्र परीक्षण हुने गरेको छ ।

अहिलेकै गतिमा संक्रमण बढ्दै जाने हो भने जुलाई महिनाभित्र संक्रमितको संख्या साढे पाँच लाखभन्दा बढी नाघ्ने प्रक्षेपण दिल्ली सरकार भइसकेको छ । संक्रमणको उक्त प्रक्षेपणलाई आधार बनाउँदै जुलाईको अन्त्यसम्ममा अस्पतालमा करिब ८० हजार आइसोलेसन शय्या चाहिनेसमेत जनाइएको छ ।

यसरी संक्रमण फैलिनुमा लकडाउन खुकुलो हुनुलाई मुख्य कारण ठानिएको छ । भारत सरकारले गत १ जुनदेखि लकडाउनलाई चरणबद्ध रूपमा खुकुलो बनाउने निर्णय गरेको थियो । त्यसयता जनजीवन सामान्य बन्दै गएसँगै कोरोना भाइरसको संक्रमण पनि उच्चदरमा बढिरहेको हो । राजधानी दिल्लीमै संक्रमण बढ्दै गएपछि केन्द्रीय गृहमन्त्री अमित शाहले गत आइतबार मुख्यमन्त्री अरविन्द केजरीवाललगायतसँग भिडियो कन्फरेन्समार्फत छलफल गरेका थिए ।

संक्रमण बढ्ने क्रमसँगै बिरामीहरूको उपचारमा लापरबाही भएको भन्दै पछिल्लो समय दिल्ली सरकारको तीव्र आलोचना हुँदै आएको थियो । भारतको सर्वोच्च अदालतले अघिल्लो साता दिल्ली र केन्द्र सरकार दुवैलाई कोरोना संक्रमितको उपचारहरूमा पशुवत् व्यवहार गरिएको भन्दै तत्काल सुधार गर्न आदेश दिएको थियो । साथै कोरोना संक्रमित बिरामीहरूको उपचारमा निजी अस्पतालहरूले चर्को शुल्क लिँदासमेत कारबाही नगरेकोमा समेत दिल्ली सरकारको तीव्र विरोध भइरहेको छ ।

अदालतको आदेश र सर्वसाधारणबाट तीव्र आलोचना सुरु भएपछि केन्द्र र दिल्ली सरकारबीच विगत केही दिनयता स्वास्थ्य सेवा सुधारका लागि छलफल र बैठक तीव्र भएको छ ।

भारतमा जुन १ देखि लकडाउन खुकुलो बनाइएपछि संक्रमण पनि उच्च देखिएको हो । लकडाउनका कारण पूरै अर्थ व्यवस्था नै जोखिम पर्दै गएपछि ‘कोरोनासँगै जिउने’ रणनीति अपनाइएको हो । त्यही रणनीतिअनुरूप नै संक्रमणको जोखिम रहेका क्षेत्रहरूमा बाहेक सबै किसिमका आर्थिक गतिविधिहरूलाई खुला गरिएको छ । लामो दूरीका रेल सेवादेखि आन्तरिक हवाई उडान पनि सञ्चालनमा भएका छन् । त्यसैगरी राज्यहरूबीच बीच चल्ने यात्रुवाहक बस सेवाहरू पनि सुचारु भएको छ । यसरी लकडाउन खुकुलो हुनेक्रमसँगै मानिसहरूको आउजाउ बढेका कारण संक्रमण पनि तीव्र रूपमा फैलिँदै गएको छ ।

भारतीय सञ्चारमाध्यमहरूले भारतमा कोरोना संक्रमणले आगामी कात्तिकसम्म सबैभन्दा उचाइमा पुग्ने बताएका छन् । भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद् (आईसीएमआर) लाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले कात्तिकको दोस्रो सातामा भारतमा कोरोना संक्रमण सबैभन्दा उच्च विन्दुमा पुग्ने उल्लेख गरेका छन् । स्मरण रहोस्, गत वर्ष नोभेम्बरमा नै कोरोना भाइरसको पहिलो केस पुष्टि भएको थियो ।

जापानी अनुसन्धान संस्था नोमुराले गरेको एक अध्ययनले पनि लकडाउन खुकुलो पारेसँगै भारतलाई संक्रमणको उच्च जोखिम भएको मुलुकमा सूचीकृत गरेको थियो । उक्त अध्ययनले जोखिम बढ्ने क्रमसँगै भारत, पाकिस्तानलगायतका विभिन्न पन्ध्र मुलुकले संक्रमणको दोस्रो चरणको सामना गर्नुपर्ने प्रक्षेपण पनि गरेको थियो । त्यसैगरी बढ्दो संक्रमणसँगै पुन: लकडाउन गर्नुपर्ने परिस्थिति बन्न सक्नेतर्फ पनि अध्ययनले औंल्याएको थियो ।

भारतमा हुने संक्रमणको उच्च वृद्धिले खुला सीमा भएका कारण नेपालमा पनि संक्रमण अझै फैलिने देखिन्छ । भाइरसको नियन्त्रण र रोकथामका लागि गरिएको लामो समयको लकडाउनका कारण काम नपाएपछि भारतमा रहेका नेपालीहरू स्वदेश फर्किरहेका छन् । कान्तिपुर दैनिकमा सुरेरराज न्यौपानेले यो खबर लेखेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्