
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा सुसार परियोजना शुरू भएको छ । स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको गोल्डेन कम्युनिटीले नवजात शिशु स्याहारमा गुणस्तर सुधार ल्याई ल्याएर मृत्युदर घटाउने उद्देश्यले कार्यक्रम ल्याएको हो ।
परियोजनाले गुणस्तरीय सेवा सुधार अन्तर्गत अस्पतालको विद्यमान मातृ तथा शिशु स्याहार सेवालाई ज्ञान सीप तथा प्रविधिहरु प्रयोगमा ल्याई नवजात शिशुको मृत्युदरमा कमी ल्याउने उद्देश्यले परियोजना शुरू गरिएको सञ्चार विज्ञ सिर्जना शर्माले बताइन् ।
प्रसुति सेवालाई प्रभावकारी ढंगले निगरानी गर्न, सेवा प्रदान गर्न तथा समयमै उचित निर्णय लिन सुसार कार्यक्रमले स्वास्थ्यकर्मीलाई सशक्त बनाउने परियोजनाको उद्देश्य रहेको शर्माले बताइन् । परियोजनाले प्रादेशिक अस्पताल सहित ७ प्रदेशका ८ अस्पतालमा चल्नेछ ।
लुम्बिनी प्रादेशिक अस्पतालमा प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्र खनालले परियोजनाले गुणस्तरीय सेवा सुधारमा अस्पतालमा थप सुधारका लागि सहयोगी बन्ने बताए । लुम्बिनी प्रादेशिक अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. श्रीधर आर्चायले नवजात शिशुको मृत्युदरमा कमी ल्याउन यस्ता कार्यक्रम दीर्घकालीन हुनु आवश्यक रहेको बताउँदै प्रादेशिक अस्पतालमा विभिन्न समस्याका वाबजुत पनि प्रभावकारी सेवा दिइरहेको बताए ।
लुम्बिनी प्रादेशिक अस्पतालको अघिल्लो हप्ताको प्रसुतिको अवस्था विश्लेषण गर्दा त्यस हप्तामा १ सय ४ जना शिशु जन्मिएका थिए । त्यसमा ४ जना आमाको पेटभित्रै बिग्रिएको अवस्थाका, ८ जना कम तौल भएका र ४ जनाले श्वास फेर्न नसकेको अवस्थाका रहेकोमा ४ जनालाई कृत्रिम स्वास दिइएकोमा ३ जना ठीक भएको डा. राजेन्द्र खनालले बताए ।
ती जन्म दिएका शिशुका ९५ जनाले एक घण्टाभित्र स्तनपान गराएका थिए । नेपालमा हरेक बर्ष ६ लाख बच्चा जन्मिएकोमा ११ हजार शिशु मृत अवस्थामा जन्मिने र १३ हजार नवजात शिशु जन्मेको एक महिना नपुग्दै मर्ने गरेको तथ्यांक रहेको छ। करिब १७ प्रतिशत शशिुहरु जन्मेको पहिलो घन्टामा, ५७ प्रतिशत जन्मेको पहिलो दिनमा र ७९ प्रतिशत जन्मेको पहिलो हप्तामा मर्ने गरेको तथ्याक छ ।