
काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ५ मा अज्ञात समुह र स्थानीयबीच झडप हुँदा ४ जना घाइते भएका छन् ।
गएराती अन्दाजी ११ बजे हतियारसहितको समूह स्थानीयबीच झडप भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रवी कुमार पौडेलले लोकान्तरलाई जानकारी दिए ।
पौडेलका अनुसार, बुद्धचित्त माला लुटपाटका लागि गएको अज्ञात समूह र स्थानीयबीच झडप भएको हो ।
लोकान्तरसँग पौडेलले भने,‘हामीले थाहा पाउने बित्तिकै प्रहरी टोली घटनास्थलमा पठायौं, दोहोरो झडप भएको रहेछ । हतियारसहित उनीहरू गाउँमा आएको पाइयो ।’
स्थानीयले अज्ञात समूहमा ५०/६० जना संलग्न रहेको बताएको भन्दै एसपी पौडेलले प्रहरीको प्रारम्भिक अनुसन्धानमा २० जनाभन्दा बढी संलग्न रहेको बताए ।
झडपमा घाइते हुनेहरूमा श्याम लामा, जित बहादुर तामाङ, बाबू लामा, शेखर लामा, वाङटुब लामा छन् । घाइतेहरूको अहिले धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।