
गृहमन्त्री रामबहादुर थापाले लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसार रोक्न आमसमुदायको सहकार्य आवश्यक भएको बताएका छन् ।
प्रत्येक वर्ष जुन २६ का दिन मनाइने लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै गृहमन्त्री थापाले लागूऔषध दुरुपयोग रोक्न आफ्ना सन्तान र प्रियजनको शीघ्र शुद्धीकरण र सुमधुर पारिवारिक पुनःस्थापनामा जोड दिए ।
कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण र उपचार सँगसँगै लागूऔषध दुरुपयोग रोकथाम तथा नियन्त्रणको कार्यमा आआफ्नो क्षेत्रबाट गरिएका प्रयासको उनले प्रशंसा गर्दै धन्यवाद दिएका छन् । ‘लागूऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरुद्ध सबै निकाय एवं आमसमुदायको साथ र सहयोगका लागि अपिल समेत गर्दछु,’ मन्त्री थापाले सन्देशमा भने ।
लागूऔषध दुरुपयोगको विश्वव्यापी रुपमा बढ्दो चुनौती सामना गर्न संयुक्त राष्ट्रसंघ महासभाबाट घोषणा भई विगत ३ दशकदेखि यो दिवस मनाउन थालिएको हो । शुक्रवार सारा विश्व र मानव समुदाय नै कोभिड–१९ संक्रमणको महामारीसँग जुधिरहेको छ । संयुक्त राष्ट्रसंघीय लागूऔषध तथा अपराध नियन्त्रण कार्यालयले तथ्य र साझा दायित्वमा आधारित समाधान खोज्नुपर्नेमा जोड दिएको छ ।
नेपालमा पनि बर्सेनि विविध कार्यक्रमको आयोजना गरी देशव्यापीरुपमा यो दिवस मनाउने गरिएकोमा कोभिड–१९ संक्रमणबाट उत्पन्न जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्नुपर्ने सन्दर्भमा यो वर्ष दिवसका औपचारिक कार्यक्रम गर्न नसकिएको गृह मन्त्रालयले जनाएको छ । यद्यपि कोभिड–१९ को संक्रमणबाट लागूऔषध रोकथाम तथा नियन्त्रणको क्षेत्रमा संलग्नमा समेत ठूलो प्रभाव परेका कारण महामारीबाट सुरक्षित रहँदै लागूऔषध दुरुपयोग र यसको कारोबार नियन्त्रणका कार्य भइरहेको मन्त्री थापाले बताए ।
मन्त्रालयबाट उपचार तथा पुनःस्थापना केन्द्र तथा अन्य सेवा केन्द्रबाट सेवा प्राप्त गरिरहेका व्यक्तिको दैनिक जीवनयापनमा कोभिडले पारेको प्रभाव न्यूनीकरणमा निरन्तर सहजीकरण भइरहेको सन्देशमा उल्लेख छ ।
मन्त्री थापाले सन्देशमा मन्त्रालयले प्रतिकूल अवस्थामा लागूऔषध कारोबारमा संलग्नले नयाँ मार्ग र विधिको प्रयोग गरी तस्करीका गतिविधि बढाउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै त्यसको प्रभावकारी नियन्त्रणका लागि आवश्यक रणनीति अवलम्बन गरिरहेको उल्लेख गरे ।