
पाल्पामा कोरोना संक्रमितको शव व्यवस्थापनमा खटिएका २ जना सुरक्षाकर्मीमा कोभिड–१९ पोजेटिभ देखिएको छ ।
पाल्पाको पूर्वखोला गाउँपालिका–१, सिलुवाका ४५ वर्षीया पुरुषको जेठ २० गते निधनपछि शव व्यवस्थापनमा खटिएका दुई जना सैनिक जवानमा कोरोना भाइरस संक्रमण देखिएको हो ।
स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्व न्यौपानेका अनुसार संक्रमित ती सैनिक ३३ र ३६ वर्षीया रहेका छन् । शव व्यवस्था गर्ने समयमा ठूलो वर्षा भएको थियो । पानी परेकोले त्यसैमार्फत संक्रमण फैलिन सकेको हुनसक्ने न्यौपानेले बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शव व्यवस्थापन कार्यविधिअनुसार खटिएका उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको नेपाली सेनाको गोरखदल गणले जनाएको छ ।
१८ गते पूर्वखोलाको जल्पास्थित क्वारेन्टाइनमा पुगेका ४५ वर्षीय पुरुषलाई स्वास्थ्यमा समस्या देखिएपछि १९ गते तानसेनको मिसन अस्पतालमा थप उपचारका लागि पठाइएको थियो । उनको जेठ २० गते मृत्यु भएको थियो । जेठ २२ गते कार्यविधिअनुसार नेपाली सेनाले शव व्यवस्थापन गरेको थियो ।
कोरोना भाइरस संक्रमण पुष्टि भएकाको शव व्यवस्थापनमा खटिएकालाई सोही दिनदेखि नै सुरक्षित आइसोलेसनमा राखिएको गणले जनाएको छ । पाल्पामा कोरोना भाईरस संक्रमितको संख्या ४४६ पुगेको छ । जसमध्ये १६ जना उपचारपछि निको भएर घर फर्केका छन् ।