
नेपालमा पनि पस्यो सलह
नेपालमा वनस्पति नाशक कीरा ‘सलह’ प्रवेश गरेको पुष्टि भएसँगै सरकारले रोकथाम तथा प्रतिकार्यको कामलाई अगाडि बढाएको छ।
बारा, सर्लाही, पर्सा, सिन्धुली र रुपन्देहमा सलह कीरा देखा परेको शनिबार पुष्टि भएको थियो।
यससँगै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सलह प्रभावित क्षेत्रमा अनुन्धानका लागि प्राविधिक गरेको छ।
कृषि मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सलह कीराकाको संख्या, अवस्था, फैलावट, क्षतिको आकलन लगायतका विषयमा जानकारी लिन संघीय निकायहरू र प्रदेश अन्तर्गतका प्राविधिकहरू परिचालित भैसकेका छन्। ’
मन्त्रालयको आकस्मिक बैठकले संघमा रहेको प्राविधिक कार्यदल र सम्बन्धित निकायहरूलाई सक्रिय बनाएको छ।
प्रदेश ५ सरकारले सलह कीरा समातेर प्रदेश सरकारलाई बुझाउनेले १ किलोको २० रुपैयाँ दिने निर्णय गरेको छ। झुन्डमा रहने सलहले बाली र रुखबिरुवा नष्ट गर्ने सलह नष्ट गर्दछ।
एकैदिन १ सय ३६ ले कोरोनालाई जिते
नेपालमा २४ घण्टामा थप १ सय ३६ जना कोरोना भाइरस संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्।
तीमध्ये १८ महिला र १ सय १८ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। योसँगै निको भएर घर फर्किनेको सङ्ख्या दुई हजार ८ सस ३४ पुगेको छ ।
६५ हजार ७ सय १२ जना क्वारेन्टिनमा र ९ हजार ४ सय ४७ जना आइसोलेशनमा छन् । पछिल्लो २४ घण्टामा ५ सय ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। यो सँगै सङ्क्रमितको सङ्ख्या १२ हजार ३ सय ९ पुगेको छ ।
थप ५५४ जनामा कोरोना पुष्टि, ७७ वटै जिल्लामा पुग्यो संक्रमण
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ । शनिवार थप ५५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणको अद्यावधिक विवरण सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले कूल संक्रमितमध्ये १३६९ महिला र १० हजार ९४० पुरुष रहेका जानकारी दिए ।
प्रवक्ता गौतमले ७७ वटै जिल्लामा कोरोना संक्रमण पुगेको जानकारी दिए । शनिवार कैलालीको गोदावरीका १ जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको प्रवक्ता गौतमले बताए । यससँगै संक्रमितको मृत्युको संख्या २८ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म २ हजार ८३४ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टाको तथ्यांक अनुसार १३६ जना डिस्चार्ज भएका छन् ।
नेकपा स्थायी कमिटी बैठक ३ दिनका लागि स्थगित
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पाचौं स्थायी कमिटी बैठकको तेस्रो दिन पनि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली सहभागी भएनन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिवार बसेको बैठकमा ओली आफू अस्वस्थ्य भएको भन्दै बैठकमा सहभागी नभएका हुन् ।
‘स्वास्थ्यस्थिति अनुकूल नभएको भन्दै उहाँ (प्रधानमन्त्री) बैठकमा सहभागी नहुनुभएको हो,’ बैठक सकिएपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरूसँग भने । ओली शुरूमा एकैछिन बैठकस्थलमा बसेर बाहिरिएका थिए ।
ओली शुक्रवार बसेको दोस्रो दिनको बैठकमा पनि उपस्थित थिएनन् । ओली उपस्थित नभएकोमा स्थायी कमिटी सदस्यहरूले असन्तुष्टि प्रकट गरेका छन् ।
प्रवक्ता श्रेष्ठले बैठकमा सीमा विवादका बारेमा छलफल भएको जानकारी दिए । शुक्रवारदेखि छलफल चलेको नेपाल-भारत सीमा विवादका बारेमा शनिवार पनि छलफल चलेको हो ।
शनिवारको बैठकमा २१ जना स्थायी कमिटी सदस्यहरू बोलेका थिए । प्रवक्ता श्रेष्ठले स्थायी कमिटी सदस्यहरू देवेन्द्र पौडेल, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, सत्यनारायण मण्डल, रघुजी पन्त, टोपबहादुर रायमाझी, युवराज ज्ञवाली, नन्दकुमार प्रसाई, लेखराज भट्ट, प्रदीप ज्ञवाली, मणि थापा, घनश्याम भुसाल, शक्ति बस्नेत, बामदेव गौतम, योगेश भट्टराई, ईश्वर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, विष्णुपुकार श्रेष्ठ र पुष्प कंडेलले आफ्नो धारणा राखेको बताए ।
प्रवक्ता श्रेष्ठले सबै स्थायी कमिटी सदस्यहरूले नेपालको सम्पूर्ण भू-भाग समेटिएको नक्सा प्रकाशित गर्ने र संविधानको अनुसूचीसमेत संशोधन गरेर ऐतिहासिक पहल गरिएको र त्यसलाई राष्ट्रिय एकताद्वारा हाम्रो भूमि प्राप्त गर्नुपर्छ भन्ने धारणा राखेको बताए ।
श्रेष्ठले अर्को बैठक आउने १६ गते ११ बजे बालुवाटारमै बस्ने उनले बताए ।