काठमाडौं, १६ बैशाख –एमालेको आजको स्थायी कमिटी बैठकमा उम्मेद्वार चयनबारे छलफल भएको छ । प्रदेश नम्बर ३ का संयोजक अष्टलक्ष्मी शाक्य र प्रदेश नंम्बर ६ का संयोजक युवराज ज्ञवालीले स्थानीय तहमा पार्टीका तर्फबाट प्रस्तुत गरिएका उम्मेदवारका बारेमा प्रगति विवरण प्रस्तुत गरेका थिए ।

प्रदेश नम्बर ६ का २५ वटा नगरपालिका र ५७ वटा गाउँपालिका गरी ८२ वटै तहमा सर्वसम्मतरुपमा सबै उम्मेदवार निर्णय भइसकेको बैठकमा जानकारी गराइयो ।
यसैगरी, प्रदेश नम्बर–३ मा महानगरपालिका र उपमहानगरपालिकामा सर्वसम्मतरुपमा उम्मेदवार चयनका लागि प्रयत्न भइरहेको छ र भोलिसम्ममा त्यसलाई टुङ्गो लगाइने सो पार्टीले जनाएको छ ।
एमालेमा सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, चितवन, मकवानपुर र ललितपुरमा सबै उम्मेदवारको टुङ्गो भइसकेको छ भने अन्य जिल्लामा पनि ९० प्रतिशतभन्दा बढी स्थानमा उम्मेदवार सर्वसम्मतरुपमा चयन भएका छन् । थोरै स्थानमा बाँकी रहेका उम्मेदवारको चयन आइतबारसम्ममा गरिने बताइएको छ । प्रदेश नम्बर–४ मा उम्मेदवार चयन अन्तिम चरणमा पुगेको छ ।
एमालेको स्थायी कमिटीबाट पारित पार्टीको स्थानीय निर्वाचनको घोषणापत्रलाई आइतबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालयमा सार्वजनिक गरिने कार्यक्रम रहेको छ ।