
इरानको राजधानी तेहरान नजिक पूर्वतिर रहेको अल्बोर्ज पहाडमा शुक्रवार भयंकर विस्फोट गरिँदा राजधानी शहर थर्किएको छ । विश्लेषकहरूले त्यस पहाडमा भूमिगत सुरुङ प्रणाली र क्षेप्यास्त्र उत्पादन स्थल हुनसक्ने विश्वास गरेका छन् ।
विस्फोटपछि आकाशमा आगोको ठूलो मुश्लो उठेको थियो । के कारणले विस्फोट भयो भन्ने खुलेको छैन ।
सरकारी समाचार संस्था फार्सले उक्त विस्फोट औद्योगिक ग्यास ट्यांकी पड्केकाले भएको खबर दिएको थियो । स्रोतको हवाला दिँदै उसले विस्फोटको घटना सेनासँग् सम्बन्धित नरहेको बताएको छ ।
इरानी सरकारले विस्फोटपछि दिएको प्रतिक्रियाले उक्त क्षेत्रको संवेदनशीलतालाई उजागर गरेको छ । अन्तर्राष्ट्रिय निरीक्षकहरूले दुई दशकअघि उक्त स्थानमा इरानले उच्च विस्फोटयुक्त परीक्षण गरेको बताएका छन् ।
विस्फोटपछि घरहरू हल्लिएका थिए, झ्यालहरू थतर्किएका थिए र आकाशै झलमल्ल भएको थियो ।
रक्षा मन्त्रालयका प्रवक्ता दाऊद अब्दीले ग्यास चुहिएकाले विस्फोट भएको बताए र त्यसमा कसैको पनि मृत्यु नभएको बताए ।