०९ साउन २०८३, शनिबार

चीनले सीमामा भिडन्तअघि पर्वतारोही र मार्सल आर्ट्स खेलाडी ल्हासा ल्याएको खुलासा

असार १४, २०७७
चीनले सीमामा भिडन्तअघि पर्वतारोही र मार्सल आर्ट्स खेलाडी ल्हासा ल्याएको खुलासा

चीनको सैन्य पत्रिका चाइना नेसनल डिफेन्स न्युजले भारतीय सीमानजिक रहेका आफ्ना सैनिकसँगै पर्वतारोही र मार्सल आर्ट्सका खेलाडीहरूलाई पठाएको खबर दिएको छ । लद्दाखमा भिडन्त हुनुअघि उनीहरूलाई खटाइएको हो । 

यी दुई देशबीच सीमामा पहिलेदेखि नै विवाद रहेको भए पनि लद्दाखमा केही दिनअघि भएको भिडन्त ५० वर्षयताकै सबभन्दा हिंस्रक हो ।

सगरमाथामा ओलम्पिक मशाल ल्याउने टोलीका सदस्य र मिक्स्ड मार्सल आर्ट्स क्लबका लडाकूहरू सहित पाँच नयाँ मिलिसिया डिभिजनहरू जुन १५ मा ल्हासामा आइपुगेको पत्रिका लेख्छ । 

सरकारी टीभी सीसीटीभीले ल्हासामा सयौं नयाँ सैनिकहरू भेला भएको फूटेज देखाएको छ । 

तिब्बत कमान्डर वाङ हाइजियाङले एन्बो फाइट क्लबका सदस्यहरूले सैनिकहरूको संगठन र परिचालन क्षमता बढाउने बताए तर उनीहरूलाई अहिलेको सीमा तनावकै सन्दर्भमा खटाइएको हो कि हैन भन्ने कुरा स्पष्ट पारेनन् । 

ती लडाकूहरू ल्हासा पुगेकै दिन चिनियाँ र भारतीय सैनिकहरूले हिंस्रक भिडन्त गरेका थिए । भिडन्त गरेको ठाउँ गलवान उपत्यका ल्हासाबाट १३ सय किलोमिटर पर छ । 

उक्त भिडन्तमा आफ्ना २० सैनिक मारिएको भारतले जनायो भने चीनतर्फ भएको हताहतीको विवरण सार्वजनिक गरिएको छैन । 

भारतले पनि सीमाक्षेत्रमा आफ्ना सैनिकहरूको संख्या बढाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्