०९ असार २०८३, मंगलबार

किसानका गह्रामा रौनक तर पहिलोपल्ट रोकियो रोपाइँ महोत्सव

असार १५, २०७७
किसानका गह्रामा रौनक तर पहिलोपल्ट रोकियो रोपाइँ महोत्सव

कोरोना भाइरस संक्रमणको कहरबीच कास्कीका किसान धान रोपाइँमा व्यस्त छन् । असार १५ गतेलाई सरकारले धान दिवस रुपमा मनाउँदै आएकोमा किसानमा झनै उत्साह छ । 

मानो रोपेर मुरी उब्जाउन धानखेतीका लागि पोखरा क्षेत्रका ठूला मानिने फेवा, कुँडहर, बिरौटा, शिशुवा, चाउथे, ठूलीबेशी लगायत फाँटमा सोमवार किसान धान रोपाइँमा व्यस्त भएका छन् ।

पोखरा महानगरपालिका–१७ महतगौंडाका किसान इमानसिंह विश्वकर्मा आफ्नै खेत नभए पनि अधियाँ कमाएर रोपाइँमा लागेका छन् । उनका अनुसार ८ हलको खेतमा अधियाँ कमाएर आफूसहित ४ 
जनाले यसपालि रोपाइँ गरिएको हो । कोरोनाका कारण अरु खासै काम नपाउँदा खेतबारीमा आफूहरू व्यस्त भएको उनले बताए । 

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम न्यूनीकरणका लागि सरकारले झण्डै ३ महिनापछि लकडाउन खुकुलो बनाएको थियो तर खुकुलो लकडाउनमा सार्वजनिक यातायात भने चलेका छैनन् । सार्वजनिक यातायातका साधन नचल्दा किसान मर्कामा परेको गुनासो छ ।

टाढा–टाढाको खेतमा रोपाइँका लागि आवश्यक जोहो गर्दै हिँडेरै जानुपर्दा केही अप्ठ्यारो भएको किसान बुद्धिबहादुर विकले बताए । 

पहिलोपल्ट रोकियो रोपाइँ महोत्सव

पर्यटकीय नगरी पोखरामा पहिलोपल्ट रोपाइँ महोत्सव रोकिन गएको छ । पर्यटकीय क्षेत्र कोरोना कारण यसपालि थला परेपछि आयोजक पोखरा पर्यटन परिषद्ले यसपालि रोपाइँ महोत्सव स्थगन निर्णय गरेको हो । 

नभए हरेक वर्ष असार १५ गते पोखरामा रोपाइँ महोत्सव हुने गर्थ्यो । अघिल्लो वर्ष १६ औं संस्करणसम्म रोपाइँ महोत्सव सम्पन्न भएको थियो । वर्षायाममा पर्यटकको उतिसारो आगमन नहुने हुँदा पर्यटन क्षेत्र चलायनमान बनाइराख्न परिषद्ले हरेक वर्ष पोखराका फरक–फरक फाँटमा किसानकै खेतमा पुगेर आन्तरिक एवं बाह्य पर्यटकसँग आपसमा हिलो छ्याप्दै रोपाइँ महोत्सवलाई निरन्तरता दिँदै आएको थियो । 

परिषद् अध्यक्ष चिरञ्जीवी पोखरेलले कोरोना कारण विषम परिस्थिति उत्पन्न हुँदा नियमित हुँदै आएको महोत्सव स्थगन गर्नुपरेको स्पष्ट पारे । यसखालका महोत्सवले पोखरा बाह्रै महिनासम्म पर्यटकीय सिजन बन्न सकेको थियो । कोरोना कारण भने पोखरामा सबैभन्दा ठूलो असर ठूलो लगानी रहेको होटल व्यवसायमा परेको छ ।

पोखरामा पर्यटकीयस्तरका साना–ठूला गरी ४०० होटल पश्चिमाञ्चल होटल संघमा आवद्ध छन् । ती सबै चैत ११ गतेयता बन्द छन् ।

गण्डकीमा धान उत्पादन बढ्दो

मौसमले साथ दिँदा र सिँचाइ लगायत सुविधा थपिँदा केही वर्षयता गण्डकी प्रदेशमा धान लगायत बालीको उत्पादन बढेको प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । 

मन्त्रालयको तथ्यांकअनुसार गण्डकीमा अघिल्लो पालि २०७४/०७५ मा १ लाख १५ हजार ७९६ हेक्टर क्षेत्रफलमा धानखेतीबाट ४ लाख १८ हजार मेट्रिक टन धान फलेको थियो । प्रतिहेक्टर ३ दशमलव ६ मेट्रिक टनका दरले धान फलेको छ । 

सो क्षेत्रफल आर्थिक वर्ष २०७५/०७६ मा बढेर १ लाख २२ हजार ७ सय ४४ हेक्टरमा उक्लिएको थियो । १ वर्षकै अन्तरमा झण्डै ७ हजार हेक्टर धानखेती हुने जग्गा विस्तार भएको हो । खेती विस्तारसँगै गण्डकीमा सो वर्ष ४ लाख ३१ हजार मेट्रिक टन धान फलेको थियो तर अघिल्लो वर्षको तुलनामा उत्पादकत्व केही घटेर प्रतिहेक्टर ३ दशमलव ५ मेट्रिकमा खुम्चिन गयो ।

आव २०७६/७७ मा उत्पादकत्व वृद्धिदर बढ्यो । अघिल्लो वर्ष तुलनामा आव २०७६/७७ मा ४ हजार ६०० हेक्टर क्षेत्रफल थपिएर १ लाख २७ हजार हेक्टर क्षेत्रफल पुग्यो र उत्पादकत्व पनि बढेर ४ लाख ५९ हजार मेट्रिक टन पुगेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवद्र्धन महाशाखाका बाली विकास अधिकृत अमृत रेग्मीले प्रदेशमा पछिल्लो समय धानखेतीका लागि क्षेत्रफल, उत्पादन र उत्पादकत्व वृद्धि हुँदै गएको बताए ।

पोखरा महानगर क्षेत्रमा ११ हजार २०० हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । महानगर कृषि महाशाखा प्रमुख मनोहर कडरियाका अनुसार सो क्षेत्रफलमा करीब ३५ हजार मेट्रिक टन धान फल्ने गरेको छ । यो वर्ष समयमै र नियमित वर्षा भएकाले किसानलाई धान रोप्न सहज भएको उनले बताए । पोखरामा अझै पनि केही ठाउँमा जेठोबूढो धान फल्ने गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्