काठमाडौं, १७ बैशाख – संशोधन विधेयक निणयार्थ पेश गर्ने तयारी भइरहँदा संसद्को अङ्कगणित समेत चर्चामा छ । हालको अङ्कगणित अनुसार विधेयक संसद्बाट पारित गराउने सरकारसामु कठिन चुनौती छ । हाल संसद्मा ५९३ सदस्य कायम छन् । कायम सङ्ख्या अनुसार सरकारलाई विधेयक पारित गराउन संवैधानिक प्रावधान अनुसार ३९६ सांसद् आवश्यक पर्छन्, गोरखापत्रमा खबर छ ।

प्रतिपक्ष गठबन्धनमा रहेका ९ दलमध्ये परिवार दलसहितका दुई दल अनिर्णित छन् । ती दलको साथ पाएमा सरकार प्राविधिक रूपमा ३९६ सङ्ख्या जुटाउन सक्छ । तर, एकमात्र अनुपस्थितिले पनि विधेयक फेल हुन सक्छ । प्रतिपक्ष गठबन्धनमा एमालेसँग १८१ सदस्य छन् । यस्तै, नेकपा मालेका ५, नेपाल मजदुर किसान पार्टीका ४, राष्ट्रिय जनमोर्चाका ३, बहुजन शक्ति पार्टी १, मधेश समता पार्टी १ र बौद्धिक जनपरिषद्को १ सिट प्रतिपक्षी गठबन्धनसँग छ । प्रतिपक्षीसँग कुल १९६ सांसद् छन् । प्रतिपक्ष गठबन्धनमा आबद्ध रहेको परिवार दल अनिर्णित छ । परिवार दलले संशोधनको पक्षमा सहयोग गरेपनि एक सांसद् अझै निर्णयक हुने अवस्था छ ।
हाल कायम सङ्ख्या अनुसार गठबन्धनको १९६ सङ्ख्याबाहेक सबैले संविधान संशोधनको पक्षमा उभिए ३९७ सङ्ख्या हुन्छ । तर, ३९७ मध्ये सभामुख र निलम्बनमा रहेका सद्भावनाका सांसद् सञ्जय साहको मताधिकार रहने छैन । यसरी दुई जनाको मताधिकार नहुँदा सरकारलाई विधेयक पारितका लागि एक सांसद् आवश्यक पर्छ । सरकारले प्रतिपक्ष गठबन्धसँगको १९६ मध्ये एक सांसद् आफ्नो पक्षमा पार्न सकेमा प्राविधिक रूपमा प्रस्ताव पारित हुन सक्छ ।