दोलखा, १७ बैशाख - स्थानीय तहको चुनावका लागि दोलखामा कांग्रेस र माओवादी केन्द्रले संयुक्त प्यानल बनाएर तालमेल गरेका छन् । जिल्लामा कांग्रेस र माओवादीले सबै स्थानमा संयुक्त प्यानल बनाएर चुनावी मैदानमा उत्रिने घोषणा गरेका छन् । शनिबार सदरमुकाम चरिकोटमा पत्रकार सम्मेलन गरी दुवै दलका जिल्ला नेतृत्वले जिल्लाको समृद्धि र विकासका मुद्दामा मत मिलेका कारण आगामी चुनावमा गठबन्धनसहित उत्रनुपरेको बताए ।
उनीहरूका अनुसार २ नगर र ७ गाउँपालिका रहेको जिल्लामा सुरुमा कांग्रेसले ५ र माओवादीले ४ पालिका लिने सैद्धान्तिक सहमति बनेको थियो । यद्यपि, बिगु गाउँपालिकामा एमालेका लोकप्रिय नेता युधिष्ठिर खड्का कांग्रेस प्रवेश गरेपछि दुवै दलका नेताहरूको सहमतिमा खड्कालाई उक्त गाउँपालिकामा कांग्रेसका तर्फबाट उम्मेदवार बनाइएको छ ।

नेकपा माओवादी केन्द्रले गौरीशंकर र कालिञ्चोक लिने र कांग्रेसले भीमेश्वर, मेलुङ, बिगु, तामाकोसी, वैत्येश्वर, जिरी लिने समझदारी बनेको नेताहरूले बताएका छन् । सैलुङ गाउँपालिका कसले लिने र गठबन्धनका तर्फबाट कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा छलफल चलिरहेको नेताहरूले बताएका छन् ।
सैद्धान्तिक र लिखित समझदारी भए पनि गठबन्धनका तर्फबाट बन्ने प्रमुख उम्मेदवारको टुंगो लगाउन बाँकी रहेकाले केही पालिकामा फेरबदल हुन सक्ने आँकलनसमेत गरिएको छ । आइतबार बिहानसम्म गठबन्धनका तर्फबाट सबै गाउँपालिका र वडाहरूमा उम्मेदवारी घोषणा गरिने नेताहरूले बताएका छन्, नयाँ पत्रिकामा खबर छ ।
कांग्रेसका जिल्ला सभापति रुद्रबहादुर खड्काले जिल्लाको समृद्धि र विकासका निम्ति आफूहरूको मत मिलेकाले तालमेल गर्नुपरेको बताए । उनले आफूहरूविरुद्धको मोर्चाबन्दी एमालेविरुद्ध भएको समेत सुनाए । माओवादी केन्द्रका नेता गंगा कार्की (विश्व)ले एमाले जिल्लाको विकासमा बाधक भएका कारण आफूहरूले तालमेल गर्नुपरेको सुनाए ।
नेताहरूबिचको सहमतिमा संयुक्त प्यानलका उम्मेदवार साथै दुवैले संयुक्त निर्वाचन परिचालन समिति, सम्पर्क कार्यालय, भातृ संस्थाको परिचालनसमेत गर्ने बताएका छन् ।