चौतर्फी विवाद र आलोचनापछि नेकपाका नेताहरुले भाइरस ब्लकर कार्ड लगाउन छाडेका छन् ।
कोरोनाको भाइरसबाट जोगिन लाभदायी हुने भन्दै असार १० गते नेकपा स्थायी कमिटीको बैठकमा यो कार्ड वितरण गरिएको थियो ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लगायत शीर्ष नेताले स्थायी कमिटी बैठक चलिरहेको समयमा गलामा यो कार्ड भिरेर बसेका थिए । नेकपा नेताहरुले लगाएको यो कार्डलाई लिएर सामाजिक सञ्जालमा व्यापक आलोचना र विरोध भएको थियो ।
चिकित्सा विज्ञानले प्रमाणित नगरेको विषयमा नेताहरुले नै अन्धविश्वास फैलाउने कार्ड सर्वसाधारण जनतालाई झुक्याएको आरोप लागेपछि नेताहरुले यो कार्ड फालेका हुन् ।
मंगलबारको बैठकमा अधिकांश नेताले त्यो कार्ड फालेका हुन् ।
बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यले मंगलबारको बैठकमा नेताहरुले कार्ड नलगाएको जानकारी दिए ।
स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले गलामा भिरेको कार्डलाई ‘कोरोना जन्तर’ भनेर नामाकरण गरेका थिए । त्यस लगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भाइरस राेकथामका लागि कुनै ब्लकर कार्ड नबनेकाे बताएकाे थियाे।