जबरजस्ती करणी मुद्दाका एक अभियुक्तलाई तनहुँ जिल्ला अदालतले २४ वर्ष कैद फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासले २ बालिकालाई जबरजस्ती करणी अभियोगमा रौतहट गढीमाई नगरपालिका–५ बस्ने नुरमहम्मद अन्सारीलाई २४ वर्ष कैदको फैसला सुनाएको हो ।
१३ र १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अदालतले निजलाई एउटा मुद्दामा १८ वर्ष कैद, ५० हजार जरिवाना तथा अर्को मुद्दामा १२ वर्ष कैद र २५ हजार जरिवानाको फैसला सुनाएको हो ।
यद्यपि एउटै व्यक्तिले समान प्रकृतिका २ कसूर गरेकाले एकीकृत फैसलाअनुसार निजलाई २४ वर्ष कैद र ७५ हजार जरिवानाको फैसला भएको जिल्ला अदालत तनहुँका स्रेस्तेदार विदुर उपाध्यायले जानकारी दिए ।
पोखरा घर भएका २ युवतीलाई अभियुक्तले तनहँुमा ल्याई जबरजस्ती करणी गरेको अभियोगमा परिवारले कास्की प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको थियो । घटनास्थल तनहुँ भएकाले निजविरुद्ध तनहुँ जिल्ला अदालतबाट मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।
यसैगरी १४ वर्षीय बालिकालाई जबरजस्ती करणी गरी बालविवाह गरेको अभियोगमा जिल्ला अदालत तनहुँले अभियुक्तलाई २ वर्ष कैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश वासुदेव पौडेलको इजलासले मुख्य अभियुक्त बन्दीपुर गाउँपालिका–१ का नवीन अर्जेललाई २ वर्ष ६ महिना कैद र ५ हजार जरिवानाको फैसला गरेको हो ।
साथै मुख्य अभियुक्त अर्जेलबाट पीडित बालिकालाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिलाइने आदेश भएको जिल्ला अदालत तनहुँका स्रेस्तेदार उपाध्यायले जानकारी दिए । सोही अभियोगमा बन्दीपुर गाउँपालिका–१ बस्ने सुकुमाया अर्जेललाई ३ महिना कैद र ३ हजार जरिवाना, व्यास नगरपालिका–१२ बस्ने सन्तोष सुनारलाई ३ महिना कैद र ३ हजार जरिवाना र सोही ठाउँ बस्ने सविना सुनारलाई ३ महिना कैद र ३ हजार जरिवानाको फैसला भएको छ । ४ जनाविरुद्ध विक्रम संवत् २०७६ जेठ ६ गते जबरजस्ती करणी र बालविवाह मुद्दामा अदालतमा मुद्दा दर्ता भएको थियो । मुद्दाको ७ पटक पेशी सरेको थियो ।