
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका लागि आफूले त्याग गरेपनि आफू अन्यायमा परेको गुनासो गरेका छन् ।
आफूले लचकता देखाए पनि त्यसलाई कमजोरी ठानिएको प्रचण्डको भनाइ थियो ।
आफ्नै निवास खुमलटारमा बिहीवार बिहान अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीपक्षीय नेताहरूसँग भएको भेटवार्तामा प्रचण्डले विश्वासको संकटका कारण अहिलेको अवस्था आएको बताएका थिए । उनले पार्टीलाई विधिसम्मत चलाउनुपर्छ भन्ने आफूहरूको अडान रहेको बताए ।
‘त्यत्रो त्याग गरेर पार्टी एकता गरें, अहिले आएर म अन्यायमा परेजस्तो भयो । एकताका लागि गरेको त्याग र लचकतालाई कमजोरी ठानियो, पेलेर जाने निर्णय भयो,’ प्रचण्डको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यले लोकान्तरसँग भने ।
ओलीपक्षीय नेताहरूले अहिले देशका सामु रहेका समस्या समाधानका लागि मिलेरै अघि बढ्न प्रस्ताव गरेका थिए ।
कोभिड– १९, राष्ट्रियताको सबाल र दक्षिणपन्थी चलखेलका विरुद्ध एकजुट हुनुपर्नेमा पार्टीभित्रको विवादले मुलुकले प्राप्त गरेका उपलब्धि गुम्ने खतरा रहेकोतर्फ उनीहरूले प्रचण्डको ध्यानाकर्षण गराएका थिए ।
प्रचण्डले सरकार सञ्चालनमा एकलौटी गरिएको पार्टीको संस्थागत निर्णय कार्यान्वयन नगरिएको जस्ता विषय उठाएका थिए ।
बैठकमा महासचिव विष्णु पौडेल, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, परराष्ट्रमन्त्री समेत रहेका स्थायी कमिटी सदस्य प्रदीप ज्ञवाली, संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराई प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल लगायतका नेताहरू सहभागी थिए ।