
संसद्को अधिवेशन अन्त्य गर्नुअघि सभामुखसँग परामर्श गर्ने परम्परा रहेपनि सरकारले संसद्सँग परामर्श नै नगरी संसद्को अधिवेशन अन्त्य गरेको छ ।
कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रीको उपस्थितिमा कार्यव्यवस्था परामर्श समिति बैठकमा छलफल गरेर अधिवेशन अन्त्य गर्ने विगतको प्रचलन रहेको सचिवालयका अधिकारीहरू बताउँछन् ।
सभामुखसँगको परामर्शमा अधिवेशन अन्त्य गरिने र बैठकको अन्त्यमा सभामुखले अधिवेशन अन्त्यको पत्र पढेर सुनाउने प्रचलन थियो । ‘सभामुखसँग परामर्श गरेर अधिवेशन अन्त्य गर्ने र अन्तिम दिनको बैठकमा सभामुखले अधिवेशन अवधिभर भएका गतिविधि पढेर सुनाउने प्रचलन थियो,’ सचिवालयका एक अधिकारीले भने ।
बिहीवार सरकारले अधिवेशन अन्त्य गर्दा सभामुख अग्नि सापकोटासँग कुनै छलफल र परामर्श नभएको स्रोतले बतायो ।
नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गरेर प्रतिनिधि सभाको बैठक असार २२ गतेसम्मका लागि स्थगित भएको थियो ।
२२ गतेको बैठकका लागि बुधवारका लागि तय भएकै कार्यसूची बनाउने सचिवालयको आन्तरिक तयारी थियो । बुधवारका लागि बनाएको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नेलगायत ७ वटा विषय थिए ।
मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन अन्त्यको निर्णय गरिरहँदा संसद् भवनमा राष्ट्रिय सभाको बैठक चलिरहेको थियो । संसद्को अधिवेशन वैशाख २६ गते शुरू भएको थियो ।
सरकारका नीति तथा कार्यक्रम पारित भएको संसद्को यही अधिवेशनले नेपालको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न संविधान संशोधन विधेयक पारित गरेको थियो ।