
नेकपा स्थायी कमिटी सदस्य केशव बडालले नेकपाभित्र देखिएको विवाद सैद्धान्तिक नभई केपी ओलीविरुद्धको इगोका कारण निम्तिएको दाबी गरेका छन् ।
बिहीवार केहीबेर बसेको स्थायी कमिटी बैठकमा बडालले देश संकटमा रहेका बेला ओलीको राजीनामा मागिनु गम्भीर विषय भएको बताएका हुन् ।
उनले मंगलवारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतले बोलेका शब्द अपमानजनक भएको बताएका थिए ।
‘ओलीको राजीनामा माग गरेको विषयमा ओलीविरुद्धको इगोले काम गरेको जस्तो लाग्छ, आठौं महाधिवेशनको बेला माधव नेपालले ओलीविना पार्टी चल्दैन भन्नुभयो, केपी र झलनाथ उठ्नुभयो । नवौंमा ओली र नेपालबीच प्रतिष्पर्धा भयो । दोस्रो संविधानसभा निर्वाचनपछि संसदीय दलमा पनि केपी र झलनाथबीच प्रतिष्पर्धा भयो केपीले जित्नुभयो । त्यहीँ देखिको इगोको विवाद हो,’ बडालले बालुवाटारमा पत्रकारहरूसँग भने ।
सरकारविरुद्धको अभिव्यक्ति पनि इगोकै कारण आएको उनले दाबी गरे । ‘झापाको केचनाकवलमा क्वारेन्टीनमा समस्या आएपनि ओलीकै आलोचना, दार्चुला या जुम्लामा क्वारेन्टीनमा केही नपुगेपनि ओलीकै आलोचना ?’ बडालले भने, ‘इगोबाट मुक्त भए निकाश आउँछ ।’