२६ असार २०८३, शुक्रबार

दलभित्रको द्वन्द्वको दुश्प्रभाव संसद् अधिवेशनमा पर्नु आपत्तिजनक- कांग्रेस

असार १८, २०७७
दलभित्रको द्वन्द्वको दुश्प्रभाव संसद् अधिवेशनमा पर्नु आपत्तिजनक- कांग्रेस
फाइल फोटो।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सङ्घीय संसद्को जारी अधिवेशन एकाएक अन्त्य गरिएको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ। 

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार साँझ ५ बजेदेखि सङ्घीय संसद्को अधिवेशन अन्त्य गरेकी छन्। मन्त्रिपरिषद्को बिहीबारको बैठकले चालु अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो । सोही सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले अधिवेशन अन्त्य गरिन्।
 
कांग्रेसले एक विज्ञप्तिमार्फत अधिवेशन आह्वान र अन्त्य गर्ने स्थापित निश्चित प्रक्रिया भएको तर त्यसलाई अवलम्बन नगरी, कोरोना सिर्जित चुनौती सामना गर्न प्रस्तुत सङ्कल्प प्रस्तावदेखि एमसीसी हुँदै अन्य महत्वपूर्ण विधेयकबारे निश्चित टुङ्गोमा नपुगी अधिवेशन अन्त्य गरिनु दुःखद् भएको उल्लेख गरेको छ। 
 
यसबारेमा प्रमुख प्रतिपक्षी दल काँग्रेससँग कुनै परामर्श पनि नगरिएको र पूर्व सूचना पनि नदिइएको प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। 
 
“सत्तारूढ दलभित्रको विवाद आफ्नो ठाउँमा छ, तर राजनीतिक दलभित्रको द्वन्द्वको दुश्प्रभाव संसद् अधिवेशनमा पर्नु दुःखद् मात्रै होइन आपत्तिजनक छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट देशभित्र कैयौँको मृत्यु भएको र हजारौँ सङ्क्रमित भएका बेला त्यसप्रति उच्च गम्भीरताका साथ सिङ्गो संसद्ले साझा दृष्टि तय गर्न र परिमार्जित रणनीति साथ अघि बढ्न अत्यावश्यक पहलकदमी जरुरी थियो । तर अधिवेशन हठात अन्त्य गरेर सरकारले त्यसप्रति घोर उदासिनता प्रकट गरेको छ” विज्ञप्तिमा उल्लेख।
 
जनताको जीवन प्रधान कि सत्ताको राजनीति भन्ने प्रश्न प्रधानमन्त्री समक्ष सार्वजनिक रुपले राख्दै काँग्रेसले सङ्घीय संसद्को अधिवेशन हठात अन्त्य गरिएकोमा असहमति प्रकट गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्