बलिउड फिल्महरूकी सुप्रसिद्ध नृत्य निर्देशक सरोज खानको मृत्यु शुक्रवार मुम्बईमा भएको छ । हृदयघात भएको उनी बितेको बताइएको छ ।
माधुरी दीक्षित र श्रीदेवीको करीयरलाई उचाइमा पुर्याउन सरोज खानको हात रहेको बताइन्छ ।
सरोजको वास्तविक नाम निर्मला नागपाल हो । सन् १९४८ मा उनी मुम्बईमा जन्मेकी थिइन् । उनका मातापिता भारत विभाजनपछि पाकिस्तानबाट भारत आएका थिए ।
आमाबुवाकी एक मात्र सन्तान उनले बालकलाकारका रूपमा सन् १९५० को दशकबाट करीयर शुरू गरेकी हुन् । उनी ब्याकग्राउन्ड डान्सर थिइन् र आफ्नो समयका प्रसिद्ध नृत्य निर्देशक बी सोहनलालसँग उनले नृत्य सिकेकी हुन् ।
स्वतन्त्र नृत्य निर्देशकका रूपमा उनले सन् १९७४ मा आएको गीता मेरा नाम फिल्मबाट काम थालेकी हुन् । त्यसको १३ वर्षपछि बल्ल उनले मिस्टर इन्डियाको गीत हवा हवाईबाट नाम कमाइन् । उक्त गीतमा श्रीदेवीले उम्दा प्रदर्शन गरेकी छन् ।
सरोजले श्रीदेवीसँग नगिना र चाँदनी फिल्ममा पनि काम गरिन् । लोक परम्परालाई शास्त्रीय विधिसँग मिसाएर डान्स स्टेप बनाउन उनी सफल भएकी थिइन् ।
सरोजले माधुरी दीक्षितसँगको सहकार्यमा सुपरहिट गीतहरूको नृत्य निर्देशन गरिन् । तेजाब फिल्मको एक दो तीन गीत निकै प्रसिद्ध भयो । निकै पछि माधुरीसँग देवदासमा मार डाला गीत पनि असाध्यै चर्चित बन्यो । सन् १९९० को दशकमा माधुरी दीक्षितको एकछत्र राज चल्दा अधिकांश गीतमा सरोजले नै नृत्य निर्देशन गरेकी थिइन् ।